२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


मधेसी मोर्चामा दुई धार, सुरक्षित अवतरणको सकस


0
Shares

काठमाडौं, असार २ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सम्बोधन गर्दै सोमबा वार्ताका लागि तेस्रो पत्र पठाएका छन् । उक्त पत्रपछि मधेसी मोर्चामा दुई धार प्रष्ट देखिएको छ ।

एउटा धार जसले मोर्चालाई होइन, संघीय गठबन्धनलाई सम्बोधन गरेर पत्र पठाउनुपर्ने भन्दैछ । अर्को धार जसले मोर्चालाई पठाएको पत्र न्यायोचित हो भन्दैछन् ।

मधेस आन्दोलन–३ को आह्वानकर्ता मोर्चा वा जारी रिले अनसनकर्ता गठबन्धन कसले मधेस आन्दोलन ‘सेफल्यान्डिङ’ को जस लिने, मूख्य विषय यही बनेको छ अहिले ।

मोर्चा र गठबन्धनमा को बलियो भन्ने झमेला झिकेर मधेसको एजेण्डा सम्बोधनको अवसरलाई ओझेलमा पार्ने काम कसैबाट हुनु हुन्न भन्ने आम मधेसीको चाहना देखिन्छ ।

मधेसमा उग्र आन्दोलन मत्थर पारेर काठमाडौं पुगेका मोर्चा गठबन्धन विस्तारसँगै नेताहरुबीच कलह पनि विस्तार हुँदैछ । मोर्चाको ब्यानरमा भएको आमहड्ताल र सीमा नाकाबन्दीको क्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चर्चा पाए । कारण थियो, नाका धर्नामा उनको निरन्तरता । विराटनगरको रानी नाकामा धर्ना बस्ने क्रममा प्रहरीबाट कुटाइ खाएपछि उनी झन् चर्चित बने ।

मोर्चाको निर्णयअनुसार यो नाका संघीय समाजवादी फोरमको जिम्मामा परेको थियो । महतोको जिम्मा वीरगंज नाका थियो । उपेन्द्र यादवका लागि महतोको यो हामफाल्ने रवैया असह्य भयो । यही बेलादेखि उनीहरुबीच मनमुटाव बढ्न थालेको मोर्चा स्रोत बताउँछ । –नागरिक दैनिकबाट