Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


नेवि संघमा महाधिवेशनको रौनकः‘उद्घाटन’ मात्र गर्ने कि ‘निर्वाचन’ ?


0
Shares

-युवराज गौतम, ईमेज

काठमाडौं, असार २ । करिब सातौं पटकसम्म स्थगित भएको नेपाली कांग्रेसको भातृ संगठन नेवि संघ महाधिवेशन गराउने चटारोमा छ । जेठ २५ देखि ३२ गतेसम्म जारी केन्द्रीय समितिको बैठकले आगामी साउन २३, २४ र २५ गतेलाई ११ औं महाधिवेशन काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

महाधिवेशन गर्ने निर्णयसँगै चुनावी माहोल सुरु भएको छ । बर्षौदेखि सभापतिको दावी गरेर महाधिवेशनको पर्खाइमा बसेका नेताहरु जिल्ला दौडमा निस्किएका छन् । लामो समयसम्म अधिवेशन हुन नसकेर विभिन्न गुट उपगुटमा विभाजित संघका नेता तथा कार्यकर्ताहरुले आ–आफ्नो गोप्य भेलाहरु सुरु गरेका छन् ।

आधा दर्जन भन्दा बढी सभापतिका दाबेदारहरुले आफ्नो कार्यालय नै स्थापना गरेर भेटघाटलाई तिब्रता दिएका छन् । संघमा क्रियाशिल मात्र नभई मातृ पार्टीमै जिल्ला देखि केन्द्रीय तहसम्म चुनाव लडेका नेताहरु संघको उम्मेद्वारी दिने तयारीमा छन् । महाधिवेशन गर्नका लागि भृकुटीमण्डपको हल बुकिङ नै गरेर केन्द्रीय समितिले तयारीलाई तिब्रता दिएको छ । मिति तोकेर हल नै बुकिङ भएपछि धेरै नेता तथा कार्यकर्ताहरुलाई आशा जगाएको छ ।

यद्यपि, चुनावी माहोल जुन रुपले तातेको छ, प्रतिबद्ध विद्यार्थीहरुमा महाधिवेशन लोकतान्त्रिक पद्धती अनुरुप नै हुन्छ भन्नेमा पूर्ण आशावादी भने देखिदैनन् । कतिपय जिल्ला, क्याम्पस, जनसम्पर्क समिति तथा विश्वविद्यालयहरुमा विवाद अझै मिल्न सकिरहेको छैन् । जसका कारण महाधिवेशन प्रक्रियागत अर्थात निर्बाचन पद्धती अनुरुप नै हुन्छ भन्नेमा विद्यार्थीहरु आशावादी छैनन् । प्रतिनिधी छनोटको लफडा नटुङ्ग्याइ महाधिवेशन मिति तोकिनाले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छनौट हुन्छ भन्नेमा शंका उब्जिएको छ ।

संघभित्र प्रादेशिक संरचना अनुरुप विधान, महाधिवेशनको एजेन्डा, उमेरको हदवन्दी लगायतका विषयमा वहस सुरु भएको छ । केन्द्रीय समितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्तावित खाकामा अधिकांश नेताहरुले असन्तुष्टी व्यक्त गरिरहेका छन् । संघका पूर्व अध्यक्ष केशव सिहंले संघको संघीय संरचना अनुरुपको कार्यसमिति सानो र छरितो बनाउनु पर्ने सुझाव दिन्छन् । सिहं भन्छन् ‘अन्य संगठनको विधान र कार्यसमितिको ढाँचा जस्तोजुकै भएपनि नेवि संघ छरितो, पृथक र नमुना हुनुपर्छ ।’

कांग्रेसको सभापति चयन भएर आइसकेपछि शेरबहादुर देउवाले ६ महिना भित्र सबै भातृ संगठनको महाधिवेशन गराउने प्रतिबद्धता अनुरुप सबै संगठनका सभापतिहरुलाई निर्देशन दिइसकेका छन् । निर्देशन अनुरुप अन्य संगठनले पनि महाधिबेशन सम्पन्न गराउन काम सुरु गरिसकेका छन् ।

तर नेवि संघमा भने लामो समयदेखिको विवाद समाधान हुन नसक्दा अन्यौलहरु अझै कायमै छ । नेपाल संस्कृत विश्वविद्यालय इकाइका सभापति अर्थात सह–महामन्त्रीका आकांक्षी बामदेव अधिकारी भन्छन्,‘समस्या हामीभित्रै रहेकाले चाँडो समाधान नखोजे संगठनको गरिमा गुम्न सक्छ, त्यसैले महाधिवेशनलाई निर्वाचन पद्धती अनुरुप नै सम्पन्न गराउन जोड दिनुपर्छ ।’

प्रतिनिधी छनौटमा लफडा

पटक–पटक महाधिवेशनको मिति तोकेर स्थगित हुनुको पहिलो कारण प्रतिनिधि छनौटमै देखिएको लफडा हो । अझै पनि करिब ११ जिल्ला र काठमाडौं उपत्यकाका क्याम्पस तथा विश्वविद्यालयहरु विवाद मिल्न सकिरहेको छैन् । कतिपय जिल्लाहरुबाट ‘फर्जी प्रतिनिधी’ छनौट गरिएको भन्दै विरोध हुँदै आइरहेको छ । विवाद भएका भनिएका जिल्लाहरु कतिपयले ७५ वटै र कतिपयले ६४ र ४० जिल्ला पनि भनिरहेका छन् ।

सभापतिका दावेदारहरुले भने ‘आफ्नो पोल्टा’का प्रतिनिधी छनौटमा नपरेकोमा लफडा झिकिरहेको बताइन्छ ।  यी सबै विवाद समाधानका लागि ‘विवाद समाधान समिति’ बनाएर टुङग्याउने तयारी भइरहेको प्रवक्ता युपी लामिछानेले जानकारी दिए । ‘छनौट भएका प्रतिनिधीहरु निस्पक्ष र पारदर्शी तथा विधान अनुरुप नै भइरहेका छन्, यसमा धेरै विवाद गरिरहनु पर्ने देखिदैन्’, उनले भने, ‘केही दिनमै सबै विवाद समाधान गरेर महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु बन्नेछन् ।’

११ औं महाधिवेशनका लागि सभापतिका बलिया दावेदार मनोजमणी आचार्य भन्छन्, ‘हामी धेरै महत्वकांक्षी भएकाले सधैं प्रतिनिधी छनौट विवादमै अल्झिरहेका छौ, यसका लागि सबैले व्यक्तिगत नभई संगठनको हितलाई प्राथमिकता दिएर सोचिदिने हो भने समस्या समाधान भएर निर्वाचन पद्धती अनुरुप नै महाधिवेशन सम्पन गर्न सकिन्छ ।’ उनले भने ः‘महाधिवेशन सम्पन्न गर्न सबैको त्याग र समझदारी हुनै पर्छ ।’

उम्मेद्वार व्यवस्थापनमा समस्या

महाधिवेशन हुने हल्ला सुरु हुनासाथ नेतृत्वका लागि करिब आठजना नेताले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । अन्य पदाधिकारीहरुमा पनि दर्जनौंको नाम सार्वजनिक भइरहेको छ । लामो समयसम्मको ग्यापका कारण विद्यार्थी नेताहरुलाई व्यवस्थापन गर्न नसक्दा यतिबेला पार्टी नेतृत्वलाई सबैभन्दा धेरै टाउको दुखाइको विषय बनेको छ । संगठनमा बर्षौदेखि संघर्ष गरिरहेका तर अवसर नपाएका युवाहरुलाई व्यवस्थापन गर्न यसपटक पार्टीलाई ठूलो चुनौती छ ।

सभापतिका लागि मात्र मनोजमणी आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिपक भट्टराई, रामप्रसाद अधिकारी, निलकण्ठ रिजाल, कुन्दन काफ्ले, शुभराम बस्नेतले दावी गरिरहेका छन् । पार्टीमा पनि कहिल्यै अवसर नपाएका र संगठनमा बर्षौदेखि खटिएका दावेदारहरुलाई सम्मानजनक रुपमा व्यवस्थापन गर्न पार्टीले कस्तो भूमिका निर्वाह गर्छ त्यो सबैको चासोको विषय छ ।

नेवि संघका केन्द्रीय सदस्य लाओस राई भन्छन,‘समयमै महाधिवेशन गर्ने वातावरण नबनाइदिनु पार्टीको सबैभन्दा ठूलो कमजोरी हो, त्यसैले नेतृत्वका दावेदारहरुको संख्या बढ्नु अस्वभाविक मान्न सकिदैन,’ उनी भन्छन,‘यसपटक पनि विधिसंवत रुपमा महाधिवेशन हुन नदिए सिंगो पार्टीलाई नै ठूलो क्षति हुनसक्छ र विद्यार्थी आन्दोलन गरिमा गुम्न सक्छ, यसमा नेतृत्व जिम्मेवार हुनैपर्छ ।’

‘निर्वाचन’ गर्ने की ‘उदघाट्न’ ?

महाधिवेशनको मिति नजिकिरहेको बेला कतिपय विद्यार्थीहरु महाधिवेशनको उदघाटन मात्र गरेर नेतृत्व चयन लागि भने पार्टीले हस्तक्षेप गर्ने हो की भन्ने त्रासमा छन् । प्रतिनिधि छनौट, विधान संशोधन, उमेरको हदबन्दी, महाधिवेशनका ऐजेण्डा लगायतका विषयमा सबैको एकमत हुन सक्ने अवस्था देखिदैन् । सभापतिका बलिया दावेदार मात्र नभई बर्तमान कार्यसमितिकै नेताहरु अध्यक्ष रन्जित कर्णको कार्यशैलीप्रति असन्तुष्ट छन् । तर अध्यक्ष कर्ण यसपटक भने जसरी महाधिवेशन गराएरै छाड्ने अठोटमा छन् ।

संगठनभित्र देखिएको भद्रगोल हेर्दा विधिवत रुपमा निर्वाचन हुन नसक्ने कतिपयको दावी छ । यदि महाधिवेशन उद्घाटन भएर निर्बाचन पद्धतीमा जान नसके पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने व्यक्ति नेवि संघको १२ औं सभापति बन्ने निश्चित छ । सर्वसहमतिका नाममा गरिने ‘टिके प्रथा’ यसपटक पनि लागु भए संगठनभित्र मुडभेडको स्थिति आउन सक्ने विद्यार्थीहरु दावी गरिरहेका छन् ।

विद्यार्थीका नेता विद्यार्थी नै

महाधिवेशन नजिकिदै गर्दा संगठनलाई बलियो र चलायमान राख्न फरक फरक प्रस्ताव र फरक फरक अभियानहरुको पनि सुरु भएका छन् । उमेर ढल्केका र क्याम्पसमा भर्ना नै नभएका कतिपय नेताहरुले उम्मेद्वारी दिने तयारी थालेपछि केही क्रियाशिल युवाहरुले फरक अभियानहरु सुरु गरेका छन् ।

युवा नेता शुसील भट्ट, डुजाङ शेर्पालगायतका सयौं युवाहरुले नेपाल विद्यार्थी संघको राजनीति गर्न उमेरको हद लाग्ने कि नलाग्ने विद्यार्थी संघमा लगातार कति समयसम्म राजनीति गर्न पाइने कि नपाईने ? लगायतका प्रश्नहरु उठाएर दबाब स्वरुप अभियान छेड्ने तयारीमा छन् । बावुको पुस्तादेखि छोराको पुस्तासम्म एउटै प्रतिस्पर्धामा हुने विद्यार्थी संगठनको विशेषता हुन नसक्ने उनीहरुको दावी छ । संघको विधान संशोधनमा उमेरको हदबन्दी र विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्ने माग राखेर अभियान चलाइरहेको अभियन्ता शुसील भट्टले जानकारी दिए ।