Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


पश्चिमा देशले एसियाली मुलुकलाई एकापसमा भिडाउने षडयन्त्र गरिरहेछन् : बिजुक्छे


0
Shares

भक्तपुर, असार २ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पश्चिमा देशले एसियाली मुलुकलाई एकापसमा भिडाएर संसारमा आफ्नो प्रभुत्व कायम राख्ने षडयन्त्र गरिरहेको बताएका छन् ।

नेमकिपा विदेश सम्बन्ध विभागको आयोजनामा विहीबार भक्तपुरमा भएको ‘दक्षिण चीन सागर र त्यहाँका टापूसम्बन्धी विवाद’ विषयको विचार गोष्ठीमा बोल्दै उनले पश्चिमा देशको षडयन्त्रप्रति जनता सचेत हुनुपर्ने बताए ।

भारत, जापान र आसियान देशलाई हतियारकोरुपमा प्रयोग गरेर अमेरिकी र पश्चिमा देशले चीनको आर्थिक प्रगतिलाई अवरुद्ध गर्न खोजिरहेको उनको आरोप थियो ।

‘मालाबार’ युद्धाभ्यास एक क्षेत्र एक बाटो तथा २१औं शताब्दीको सामुद्रिक रेशममार्गको चिनियाँ सपना बिथोल्ने उद्देश्यले भइरहेको अध्यक्ष बिजुक्छेको तर्क थियो ।

चीनले कहिल्यै कुनैपनि देशमा उपनिवेश लादेर दुःख दिने काम नगरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेले अमेरिकामा हुने राष्ट्रपति निर्वाचनका बेला दक्षिण चीन सागरको विवादलाई उछाल्ने काम गरिरहेको आरोप लगाए ।

नेमकिपाका केन्द्रीय सदस्य एवं विदेश सम्बन्ध विभागका प्रमुख प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाइँलगायतले चिनियाँ क्रान्तिका उपलब्धि ध्वस्त बनाउन पश्चिमा मुलुकहरु लागिपरेको बताए ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, नेमकिपा विदेश सम्बन्ध विभागका सदस्य सुरेन्द्रराज गोसाइँ, नेक्रा विसंघका केन्द्रीय अध्यक्ष नीरज लवजू, राजेन्द्र चवाललगायतले दक्षिण चीन सागर र टापूको इतिहास तथा विश्वको वर्तमान राजनीतिक अवस्थाबारे बोलेका थिए । रासस  

फाइल फोटो