Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


राष्ट्रिय कविता महोत्सव २०७३ मा प्रथम भएको कविता


0
Shares

“लोकतन्त्रको अस्मिता”
— मणिराज सिंह

समयको बटुकोमा जमाएर स्वाभिमान
माछाको टाउकोसित
देश टोकिखानेहरूले
कालसर्पको यज्ञकुण्डभित्र
चेतनाहरू डढाएर
रगतको काँचो इतिहासमा
अनुवाद गर्नेछन्
मनको कोलाज
त्यतिखेर,
कलिला नानीहरूलाई
उच्छृङ्खल इन्द्रेणीसित
आफ्नै चोखो बैंस साटिएको
होससमेत हुनेछैन ।

शब्दहरू नबुझिनेगरी
जब हल्लाले तातिनेछ बजार
उचाल्दै आफ्नै खप्पड र नलीहाड
ब्युँतिनेछन् पुर्खाहरू मशान भत्काउँदै
नदीहरू उफ्रँदै
घुघुती–बासुती गर्नेछन्
सूर्यको छातीमा
त्यतिखेर,
सूर्य–चन्द्र अङ्कित अटल झन्डामा
टल्काउँदै खुकुरीको धार
चट्याङहरू
खेती गर्न तम्सने छन्
आस्था र विचारको ।

एक टुक्रो भोकसित
नून–खोर्सानी टोक्दै
मुर्कुटा भुइँचालो
आँखामा बास माग्दै हिँडेका सपनाहरू
काटकुट पारेर
जूनको सितनसित
तारेर खानेछ नयाँ बिहानी
उलटोबाट कखरा घोकाइनेछ बबुराहरूलाई
टाउको खाने निहुँमा
पटक–पटक सुत्केरी हुनेछ बैँसालु घाम
घाइते सम्भावना बोकेर
विरोध जुलुस निस्कनेछ हाँसहरूको
भालेहरू बास्दै हिँड्नेछन् मध्यान्हमै
सिउर उचालेर
त्यसबखत,
भूत र वर्तमान च्यापेर
नापिरहनेछ समय
लोकतन्त्रको अस्मिता !