
प्रज्ञा तिमल्सिना र भरत केसी (इमेज)
काठमाडौं, वैशाख १८ । समयमा नै पहिचान भइ उपचार हुनसक्यो भने क्यान्सर निको हुने रोग हो भन्ने जनचेतना फैलाउन ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा ४० जना क्यान्सरलाई जितेका बालबालिकाकोसमेत सहभागिता रहेको थियो ।
काठमाडौं, बानेश्वरकी ५ वर्षीया सालमली सापकोटालाई दुई वर्षको उमेरमा कलेजोको क्यान्सर भयो ।
जब परिवारले उनलाई क्यान्सर भएको थाहा पायो, त्यसबेला क्यान्सर अत्यन्त जटिल अवस्थामा पुगिसकेको थियो । त्यसपछिमात्र उनको उपचार सुरु गरियो ।
क्यान्सर शरीरको विभिन्न भागमा फैलिँदै गएपछि सालमलीको पित्तथैलीसमेत फाल्नुपर्यो । उपचारपछि क्यान्सरलाई जितेकी साल्लमली अहिले पूर्ण स्वस्थ छिन् ।
सालमलीजस्तै चार वर्षसम्मको उपचारपछि अभिमन्युले पनि क्यान्सर रोग जितेका छन् ।
७ वर्षका अभिमन्युलाई दुई वर्षको उमेरमा ब्लड क्यान्सर भएको थियो । उपचारपछि भने हाल उनी पूर्णरुपमा स्वस्थ छन् ।
१७ वर्षीय नोबेल अर्याललाई पनि ७ वर्षको उमेरमा ब्लड क्यान्सर भएको थियो । तीन वर्षको उपचारपछि नयाँ जीवन पाएका नोबेलको भविष्यमा इन्जिनियर बन्ने सपना छ ।
नोबेलजस्तै क्यान्सर रोग जितेका बालबालिकाहरुको आ–आफ्ना सपना छन् ।
समयमा नै उपचार हुनसक्यो भने ८० प्रतिशत बालबालिकामा क्यान्सर रोग पूर्र्णरुपमा निको हुन्छ । पछिल्लो समय बालबालिकामा ब्लड क्यान्सर बढी देखिन थालेको चिकित्सकहरु बताउँछन् ।
बाल क्यान्सर रोग विशेषज्ञ डा. प्रकाश तिवारीले केमोथेरापीका कारण बालबालिकाको शारीरिक विकासमासमेत असर पुर्याउने भन्दै क्यान्सर पूर्णरुपमा निको भएपनि नियमित परीक्षण गराउनुपर्ने बताउँछन् ।
क्यान्सर निको भइसकेको १०/१५ वर्षपछि पनि फेरि अर्को क्यान्सर देखिने सम्भावना बढी हुने डा. तिवारीको भनाइ छ ।
वंशाणुगत र अन्य विभिन्न कारणले बालबालिकामा क्यान्सर रोगको जोखिम बढ्दै गएको छ ।
जन्मेको एक वर्षदेखि नै यो रोगबाट धेरै बालबालिका प्रभावित भएको पाइएको छ । तर, समयमै उपचार गराउन सकियो भने क्यान्सर रोग निको हुन्छ ।
प्रतिक्रिया दिनुहोस्