काठमाडौं, वैशाख १८ । कचनकवल–२ का ५५ वर्षीय बमबहादुर गुरुङ र ३६ वर्षका भूपाल गुरुङ गत वैशाख १० गते जिल्ला प्रशासन कार्यालय झापा पुगे । पुग्नुको उद्देश्य थियो भूपालको वंशजको नागरिकता बनाउनु ।
भूपाल बमबहादुरको छोरा भएको पुष्टि गर्ने आवश्यक कागजात साथै लगेका थिए । कागजपत्र पेश गर्ने क्रममा कार्यालयका कर्मचारीको आँखा अनायास भूपालको औंलामा पर्यो । औंलामा मसी लगाइएको थियो । कसरी मसी लाग्यो भन्ने सोधखोज भयो । त्यस क्रममा भूपाल भारतीय नागरिक भएको पुष्टि भयो । प्रहरीले उनको साथबाट भारतीय मतदाता परिचयपत्रसमेत फेला पार्यो ।
उनी भारतमा जारी लोकसभा निर्वाचनमा मतदान गरेर नागरिकता बनाउन झापा आएका रहेछन् । उनी रहेछन् भारतको असम मणिपुरका । मतदाता परिचयपत्रमा भूपालका बाुको नाम चन्द्रबहादुर गुरुङ उल्लेख थियो । यसअनुसार उनीसँगै आएका बमबहादुर गुरुङ पनि नक्कली बाबु निस्किए ।
भारतीयलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा कचनाकवल गाउँपालिकाका जनप्रतिनिधिसहित ९ जनाका नाममा जिल्ला अदालतको आदेशअनुसार पक्राउ पूर्जी जारी भएको छ । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्