१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


अमेरिकी अध्ययनअनुसार नेपालको अवस्था झन् नाजुक


0
Shares

काठमाडौं, असार १६ । एक अमेरिकी संस्थाले जारी गरेको नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ ।

पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिक लगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले खस्किएको हो । अघिल्लो वर्ष नेपाल ३६ औं स्थानमा थियो ।

फन्डले १२ वटा सूचकांकमा गरेको अध्ययनमा १ सय २० अंकमा नेपालले ९२.२ अंक प्राप्त गरेको छ । सूचकांकमा जनसंख्याको चाप, शरणार्थी तथा आन्तरिक विस्थापित, आर्थिक तथा गरिबीको अवस्था, सम्भ्रान्तको हालीमुहाली, राज्यको वैधानिकता, सार्वजनिक सेवा, सुरक्षा अवस्था, मानवअधिकार, असमान विकास, बाह्य शक्तिको दबाबजस्ता विषय रहेका छन् ।

सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्मको विभिन्न गतिविधिका आधारमा सूची तयार पारिएको पिस फन्डले जनाएको छ ।

दक्षिण एसियामा अफगानिस्तान नवौं स्थानमा छ भने पाकिस्तान १४ औं, बंगलादेश ३६ औं, श्रीलंका ४३ औं, भारत ७० औं, भुटान ७८ औं स्थानमा रहेको र दक्षिण एसियामा सबैभन्दा पुछारमा माल्दिभ्स ९१ औं स्थानमा छ ।

नाजुक देशेको सूचीको शीर्ष स्थानमा युद्धग्रस्त अफ्रिकी मुलुक सोमालिया छ ।

सबैभन्दा पुछारमा रहेको फिनल्याण्डलाई अति नै दिगो देश भनिएको छ । –नागरिक दैनिकबाट