१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पूर्वमन्त्री मंगलसिद्धि मानन्धरको निधन


0
Shares

अपडेटः
काठमाडौं, असार १७ । पूर्वमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका नेता डा.मंगलसिद्धि मानन्धरको शुक्रबार बिहान पौने ११ बजे निधन भएको छ ।

लामो समयदेखि पिसाबथैलीको क्यान्सरबाट पीडित ७५ वर्षीय मानन्धरको निधन भने हृदयाघातबाट भएको जनाएको छ ।

एक साताअघिमात्रै भारतमा पिसाबथैलीको क्यान्सरको उपचार गराएर फर्किएका मानन्धरलाई विमानस्थलबाट सीधै नर्भिक अस्पताल लगिएको थियो ।

स्वर्गीय मानन्धरको पार्थिव शरीरलाई शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म पार्टी कार्यालय कोटेश्वर, ८ः३० देखि ९ः३० सम्म त्रिचन्द्र क्याम्पस, १०ः०० बजेदेखि १२ः०० बजेसम्म खुलामन्चमा श्रद्धाञ्जलिका लागि राखिनेछ ।

१२ बजे खुलामन्चबाट शवयात्रा गर्दै पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मानन्धर २०५६ सालमा एमालेबाट सांसदमा निर्वाचित भएका थिए भने पहिलो संविधानसभामा पनि एमालेबाटै समानुपातिक सभासद बनेका थिए ।

तर, दोस्रो संविधानसभाको चुनावअघि उनी संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भएका मानन्धर २०६२/०६३ पछि बनेको सरकारमा एमालेको तर्फबाट शिक्षामन्त्री बनेका थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।