१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


‘काला पहाड’ बन्दै हिमाल, हिमालमै गर्मी हुन थाल्यो


0
Shares

काठमाडौं, असार २६ । मनाङका सेताम्मे हिमाल जलवायु परिवर्तनका कारण अहिले काला पहाडजस्ता देखिन थालेका छन् । यहाँका अधिकांश हिमशृंखलामा अचेल मुस्किलले आधा भाग मात्रै हिउँले ढाकेको देख्न पाइन्छ ।

सिजनमा समेत कम मात्रै हिमपात हुन थालेकाले हिमालहरू हिउँविहीन देखिन थालेको टंकीमनाङका सोनामतप्के गुरुङले बताए । ‘पहिले त यस्तो हुँदैनथ्यो, प्रायः जाडो भइरहन्थ्यो, ’ उनले भने, ‘हिजोआज त जाडोमा साह्रै जाडो, गर्मीमा साह्रै गर्मी हुन थालेको छ ।’

जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको र वर्षायाममा पहिलेको तुलनामा बढी पानी पर्न थालेको उनले सुनाए । विश्वकै चर्चित अन्नपूर्ण राउन्डमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घटेपछि स्थानीय बासिन्दा पनि निराश भएका छन् ।

‘हिउँले सबैतिर सेताम्मे देखिन्थ्यो । आजभोलि त खै हिमालमा समेत हिउँ छैन रु’ अपर पिसाङका याङ्डुङ गुरुङले भने, ‘६० वर्ष यही गाउँमा बिताइयो, कहिल्यै यस्तो भएको देखेको थिइनँ । आजभोलि किन यस्तो भएको होला ?’

पहिले आठ फिटसम्म हिउँ पर्ने गरेको जानकारी गराउँदै खाङ्सारका कुमेर गुरुङ अचेल मुस्किलले एक फिट हिउँ पनि नपर्ने गरेको बताउँछन् । मनाङका गंगापूर्ण हिमाल, लमजुङ हिमाल, पिसाङपिकलगायत हिमालका आधाभन्दा बढी भाग कालो पहाडमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि मनाङको तापक्रमसमेत बढ्न थालेको छ । यसका कारण हिमशृंखला पग्लिएर हिमनदी बढ्न थालेका छन् ।

गंगापूर्ण हिमालको फेदीमा रहेको गंगापूर्ण तालको दुईतिहाइभन्दा बढी भूभाग पुरिइसकेको छ । मनाङको पर्यटकीय आकर्षणमध्येको एक यो तालमा हिउँसँगै पहाडका ढुंगा र माटो बग्ने क्रम अत्यधिक भएपछि ताल पनि संकटमा परेको छ । तल्लो मनाङमा भने विगतको तुलनामा पानीको मात्रा बढ्दै गएको मनाङका पूर्वसांसद रहेका तिल्चे गाउँका कोमल घलेले बताए । जलवायु परिवर्तनका कारण यहाँको दूधखोला नदी निकै बढेको उनले सुनाए ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट