१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


काठमाडौं खतराको सूचीमा प्रस्तावित !


0
Shares

काठमाडौं, असार २७ । लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा राख्न प्रस्ताव गरेको पाइएको छ ।

हिजो जुलाई १० देखि २० सम्म टर्कीको इस्तानाबुलमा सुरु भएको वर्ल्ड हेरिटेज कमिटीको ४० औँ सेसनका लागि तयार पारिएको एजेन्डामा सो कुरा उल्लेख गरिएको छ ।

पुरातात्विक महत्वलाई जोगाउन सकिएन भने त्यस्तो क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्दै आइरहेको छ । हाल नेपालमा काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा छन् । त्यस्तै स्वयम्भुको बौद्ध स्तुप, बौद्धनाथ, पशुपतिनाथको मन्दिर र चाँगुनारायाण मन्दिर सांस्कृतिक सम्पदाका रुपमा युनेस्कोले मान्यता दिएका क्षेत्र हुन् भने युनेस्कोको सांस्कृतिक सम्पदा सूचीमा नेपालबाट बुद्ध जन्मस्थल लुम्बिनी पनि पर्दछ । प्राकृतिक विश्व सम्पदा सूचीमा नेपालबाट चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

वर्ल्ड हेरिटेज कमिटीको चालू बैठकमा आवाश्यक मूल्यांकन गरेर काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने कि नराख्ने भन्ने निर्णय हुने बताइएको छ । २०७२ बैशाख १२ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि नेपालका सम्पदा क्षेत्रमा क्षति भएपछि युनेस्कोले आवश्यक संरक्षणको व्यवस्था गर्न र थिल्थिलो भएका क्षेत्रमा कसैलाई पनि जान नदिन सुझाएको थियो । –नेपाल समाचारपत्र दैनिकबाट