१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


मौसमी रुघाखोकीले प्रभावित हुम्लामा औषधिसहितको चिकित्सक टोली पठाइयो


0
Shares

काठमाडौं । मौसमी रुघाखोकीले प्रभावित हुम्लाको ताजाकोटमा कर्णाली प्रदेश सरकारले हेलिकोप्टरबाट औषधिसहित चार जना चिकित्सकको टोली पठाएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारको समन्वयमा प्रभावित क्षेत्रमा चिकित्सकको टोली औषधिसहित पठाइएको जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा.टेकराज भट्टराई, डा.केएन पौडेल, केशव अधिकारीसहित ३ जना चिकित्सक, एकजना प्यारामेडिक्स, निर्देशनालयका कर्मचारी श्याम आचार्य र ल्याब टेक्निसियनको टोली प्रभावित क्षेत्रमा पुगिसकेको निर्देशक डा. रीता भण्डारीले जानकारी दिनुभएको छ । सुर्खेतबाट गएको टोली केही दिन प्रभावित क्षेत्रमै बस्ने भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले मौसम परिवर्तनका कारण चैत्र महिनादेखि नै यो समस्या देखिएको जानकारी दिए । 

सदरमुकामबाट निकै टढा रहेकाले आफुहरुलाई ढिलो मात्र जानकारी आएको भन्दै डा. लालले महामारीको रुप लिन भने नलिएको बताए ।

तीन साताअघि फैलिएको मौसमी रुघाखोकीले हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने करिब ३ सय बिरामी छन् ।

ताजाकोटका वडा १ मा पर्ने जिमाना र काँडागाउँ तथा वडा २ मा पर्ने मैला, तोलीबाडा र खटिक बाडामा प्रकोप देखिएको छ ।