१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


हुम्लामा अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ९ पुग्यो


0
Shares

हुम्ला, वैशाख १५ । हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

तीन सातादेखि फैलिएको अज्ञात रोगका कारण गाउँका धेरै मानिस बिरामी भएका छन् । ताजाकोटको वडा नम्बर १, २ र ८ का बासिन्दा बढी प्रभावित भएका छन् । गाउँपालिकाका अध्यक्ष बागदल मल्लले चैत २६ गतेदेखि गाएँमा अज्ञात रोग फैलिएको बताए ।

उनले बिरामीमा ज्वरो आउने, छाती दुख्ने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको जानकारी दिए ।

गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा औषधिसमेत सकिएकाले उपचारमा समस्या भएको छ । गाउँपालिकाले औषधि र स्वास्थ्यकर्मीको कमी हुन नदिन तथा रोग पहिचान गरी नियन्त्रण गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

हुम्लाको सदरमुकामबाट ताजाकोट पुग्न चार दिन लाग्छ । नेपालगञ्जबाट बाजुराको कोल्टी विमानस्थल हुँदै जाँदा चाँडो हुने भएकाले स्वास्थ्यकर्मीको टोली नेपालगञ्जमा तयारी अवस्थामा रहेको र आज कोल्टी विमानस्थल हुँदै प्रभावित क्षेत्रमा जाने प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए ।