
गुल्मी, वैशाख १५ । गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दुषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ ।
ज्यान जानेमा स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजाली रहेको स्थानीय हरि छन्त्यालले जानकारी दिए ।
झाडापखाला लागेर बिरामी भएका बालकको उपचार नगरी घरमै बसिरहेको अवस्थामा शनिबार बेलुका ज्यान गएको हो । झाडापखालाबाट बालककी हजुरआमा र आमा पनि बिरामी परेका छन् । उनीहरुको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
दजाकोटमा झाडापखालाको प्रकोपबाट आइतबार बिहानसम्म बिरामी हुनेको संख्या १७० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिए ।
स्थानीयहरुले उपभोग गर्दै आएको पानीको नमुना परीक्षण गर्दा पानीमा कोलिफर्म (दिसामा पाइने ब्याक्टेरिया) देखिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले बताएको छ ।
झाडापखालाबाट बिरामी परेकाहरुको गुल्मी अस्पताल, भरतपुर मेडिकल कलेज चितवन र दजाकोटमा नै सञ्चालन गरिएको शिविरमा उपचार भइरहेको छ ।
दजाकोटमा फैलिएको झाडापखालाको मुख्यकारण पत्ता लगाउनका लागि विश्व स्वास्थ्य संगठनको तर्फबाट डाक्टर प्रियंका श्रेष्ठको नेतृत्वको टोली शनिबार प्रकोप क्षेत्रमा आइपुगेको छ ।
प्रभावित क्षेत्रमा खानेपानीको समस्या
झाडापखालाबाट प्रभावित दजाकोटको सिंगो बस्तीमा यतिबेला पिउने पानीको समस्या भएको छ । गएको एक वर्षदेखि नियमित रुपमा ८५ घरपरिवारले उपभोग गर्दै आएको पानी दूषित भएपछि स्थानीयहरु पानीको समस्यामा परेका हुन् ।
गाउँमा पानीको मुहान नभएपछि केही टाढा रहेको तालखोला भन्ने ठाउँबाट नगरपालिकाले शुक्रबारदेखि ट्यांकरबाट पानी वितरण गर्दै आएको छ । साथै प्रत्येक घरलाई एक कार्टूनका दरले बोतलको पानी उपलब्ध गराएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।
यसबाहेक नगरपालिकाले बिरामीहरुको उपचारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने सापकोटाले बताए ।
अहिले प्रभावित बस्तीमा सरसफाइसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्