Logo २५ भाद्र २०८२, बुधबार | Thu Sep 11 2025


भानुभक्त आचार्यको जन्म विवाद


0
Shares

नरेन्द्रराज प्रसाई-

पाहाड्को अति वेस देश् तनहु“मा श्रीकृष्ण ब्राह्मण् थिया,
 खुप् उच्चा कुल आर्यवंशि हुनगै सत्कर्ममा मन्दिया,
 विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
 इन्को नाति म भानुभक्त भनि हू“ यो जानि चिन्ही लिया ।
…..
भानुभक्त आचार्यका बाजे श्रीकृष्ण आचार्य तनहुँको चुँदी रम्घाका प्रतिष्ठित पण्डित तथा जमिनदार थिए । श्रीकृष्णका ६ भाइ छोरामध्ये खरदार धनञ्जय आचार्य जेठा थिए । धनञ्जयकी पत्नी धर्मावतीदेवीका कोखमा एउटा छोरा र एउटी छोरीको जन्म भएको थियो । छोराको नाम थियो— देवीभक्त आचार्य र छोरीको नाउँ भैरवी राखियो । यी दाजुबहिनीको जन्म चुँदी रम्घामा भएको थियो । मोतीरामले भानुभक्तका भतिजा रामदत्त आचार्यसँग सोधेर भानुभक्तको जन्मथलो तनहुँको चुँदीबेँसीको रम्घा हो भनी लेखे । तर केहीले धनञ्जयको जागिर भएका ठाउँमा नै छोराछोरी जन्मेको बेहोरा पनि लेखेको पाइन्छ । भानुभक्त आचार्यका पनाति मुक्तिनाथ आचार्यलगायत कसैकसैले चुँदीबेँसी र रम्घा गाउँबीचको धर्मशाल भन्ने ठाउँको शिखर कटेरीमा भानुभक्तको जन्म भएको थियो भनेका छन् । अनि कसैकसैले चुँदी रम्घा डाँडाको पश्चिममा पर्ने तामाकोटमा भानुभक्तको जन्म भएको पनि लेखेका छन् ।
ड्ड
धनञ्जयको उमेर चालीस वर्षको हुँदा बल्ल उनलाई पुत्रलाभ भयो भनिन्छ । त्यसो हो भने २८ वर्षसम्म धनञ्जयका सन्तान जन्मेका थिएनन् । त्यस बेलाको प्रचलनअनुसार अठारबीस वर्षभित्र नै सन्तानको मुख हेर्न सकिने अवस्था थियो । तर यथोचित समयमा सन्तान नजन्मेपछि धनञ्जयले सन्तान प्राप्तिका लागि सूर्यको व्रत लिन थाले; अनि सूर्यको व्रत लिएको बाह« वर्षपछि ४० वर्षतिर पुग्दा बल्ल उनले छोराको मुख देख्न पाए । तिनै सन्तान हुन्— देवीभक्त आचार्य । न्वारनमा देवीभक्त भनिएका बालक नै भानुभक्त आचार्य हुन् । सूर्य अर्थात् भानुको व्रत लिएर छोरा पाएकाले छोरो यशस्वी होस् भन्ने आशा र अपेक्षा धनञ्जयको थियो । त्यसैले आफ्नो छोराको चिनाको नाउँ देवीभक्त भए तापनि उनले बोलाउने नाउँचाहिँ भानुभक्त नै राखिदिए । संस्कृत भाषामा भानुको अर्थ सूर्य, किरण वा प्रकाश पनि हो ।
भानुभक्तको जन्मबारे विभिन्न तिथिमितिहरू चर्चामा आए । भानुभक्तका रचना खोजी छपाएपछि ‘कवि भानुभक्त आचार्यको जीवनचरित्र’ १९४८ सालमा मोतीराम भट्टले भानुभक्तको जन्म १८६९ सालमा भयो भनी लेखे । तर भानुभक्तकी नातिनी विष्णुमाया (रमानाथकी छोरी)ले सुब्बा रङ्गनाथ शर्मालाई ‘भानुभक्त मणिमाला’मा भूमिका लेखाई १८७१ साल असार २९ गते आइतबार भानुभक्त जन्मेको बेहोरा पेस गरिन् ।
‘भानुभक्त मणिमाला’ प्रकाशित भएपछि भानुभक्तको जन्ममितिको बेहोराले विवाद उब्जाउन थाल्यो । वास्तवमा मोतीरामले १९४७ सालमा भानुभक्तका भतिजा रामदत्तसँग सोधपुछ गरी भानुभक्तको जन्ममिति लेखेका थिए । रामदत्तबाट पाएको सूचनाकै आडमा उनले भानुभक्तको नालीबेली लेखेका थिए । यस प्रसङ्गलाई मोतीराम भट्टले ‘कवि भानुभक्ताचार्यको जीवनचरित्र’  (१९४८)को विज्ञप्ति पत्रम्’ मा यसरी लेखेका छन्—
“कवि भानुभक्ताचार्यका भतिजा रामदत्त कन मो अनेकानेक धन्न्यवाद दिन्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो । जस्का कृपाले यो पुस्तकको जन्म भयो ।”
भानुभक्त जन्मेको तिथिमितिबारे भानुभक्तका भतिजा रामदत्त आचार्यले मोतीरामलाई अन्दाजैमा लेखाएका थिएनन् भन्ने बुझिन्छ । किनभने भानुभक्तले चालीस वर्षको उमेरमा कुमारीचोकबाट श्री ३ कम्यान्डर इन् चीफलाई १९०९ सालमा कवितामा बिन्तीपत्र लेखेका थिए ः
चालिस् वर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको
आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको ।
भानुभक्तको जन्म वर्ष १८६९ साल हो भन्ने कुरा पनि यस कविताले प्रमाणित गरेको छ । किनभने १८६९ मा ४० जोड्दा १९०९ साल नै हुन आउँछ ।
भानुभक्तकी नातिनी विष्णुमायाद्वारा प्रस्तुत भएको भानुभक्तको जन्मकुण्डली सक्कली थिएन भन्ने बेहोरा भानुभक्तकै उपर्युक्त कविताबाट प्रस्ट देखिन्छ । १९४७ सालमा रामदत्तसँग भेट भएपछि नै मोतीरामले कवि भानुभक्तको जीवनचरित्र लेख्ने मुख्य सामग्री पाए । यदि रामदत्तले चासो नलिएको भए भानुभक्तको अहिलेको स्वरूप मोतीरामका कलममार्पmत यसरी प्रकट भएर आउँथ्यो भन्न पनि सकिँदैन । त्यसैले रामदत्तले दिएको भानुभक्तको जन्ममितिलाई पनि अनाहक गलत पार्नुको तात्पर्य नै थिएन भनिन्छ ।
मोतीरामले भानुभक्तको जीवनी भतिजा रामदत्त आचार्यलाई आधार बनाएर नै लेखे । यति हुँदाहुँदै भानुभक्त कुमारीचोकमा रहँदा उनले ‘चालिस् वर्ष भञा म’ भनेरै कविता लेखेको बेहोरालाई समेत सर्लक्कै पन्साएर उनी जन्मेको अर्को मिति प्रस्तुत हुनुको कारण के थियो ? साथै मोतीरामलाई गलत पार्न केही व्यक्तिहरू एकोहोरो धुरिनुको तात्पर्य के थियो ? भानुभक्त जन्मेको १२७ वर्षपछि भानुभक्तले नै आफ्नो जन्मकुण्डलीबारे कविता रचेका थिए भनेर उनकी नातिनीमार्फत यो कविता कसरी आयो ? जे होस्; भानुभक्तभन्दा ६७ वर्षपछि जन्मेकी उनकी नातिनी विष्णुमायाको कृति ‘भानुभक्त मणिमाला’बाट जादू भएझð भानुभक्तको जन्मकुण्डलीको वर्णन गरिएको चाहिँ अढाइ श्लोकको प्रस्तुति यस्तो छ ः
    श्री शालीवाहन्का समय षडत्रिंशत् भइकन ।
    अनी आषाड् मास्को दिन पनि उनन्तिस् गइकन ।।
    घटी एक्तिस् मा“हा विघटि पनि वत्तिस् परिकन ।
    नवांशक् कंठीरव् धनुष परि जो वेस लगन ।।१।।
    मिथुन्मा सूर्यै छन् निवनिलय मीन्का विधु अनी ।
    महीसुत् बुध् राहू शशि सदनका ई तिन पनी ।।
    गुरू भाग्यस्थान्का रविभवनमा गैकन वस्या ।
    भृगूजी ता आफ्नै सदन वृषमा गैकन पस्या ।।२।।
    मकर्मा सौरी छन् ध्वजसहितका स्वगृहि य“हा ।
    वतायाका क्रम्ले ग्रह हरु वस्या कुण्डलि म“हा ।।
भानुभक्तद्वारा यस प्रकारको जटिल श्लोक रचना हुनै सक्तैन भन्नेहरू पनि छन् । उनले जहाँसुकै पनि प्रायः ‘म भानुभक्त’, ‘म फलानाको नाति’, म यस्तो हुँ भनेर आफ्नोबारे भन्नुपर्दा श्लोक लेख्ने गर्थे । तर माथि उल्लिखित श्लोकमा न त उनको नाउँ नै छ; न त गाउँ छ र न त जन्मेको साल नै लेखिएको छ; अनि न मेरा कुण्डलीमा देवीभक्त नाउँ थियो र म भानुभक्त भएँ भन्ने नै उनले लेखेका छन् ।
भानुभक्त जन्मेको १२७ वर्षपछि उनको जन्मकुण्डली र उनी आपðmले रचना गरेको भनिएर उनकै जन्मकुण्डलीको विवरण ‘भानुभक्त मणिमाला’मार्फत आउनुलाई सजिलै पत्याउने आधार देखिँदैन । जन्मकुण्डलीबारेमा वर्णन गरिएको यो कविता भानुभक्त स्वयम्ले रचना गरेका थिए भन्ने आधिकारिकता पनि कहीं कतैबाट पुष्टि भएको  देखिँदैन । अर्कातिर भानुभक्तका श्लोकहरू प्रायः मौखिक परम्पराबाट विकसित भएको हुँदा पछिपछि धेरै कुरा कुन कताबाट आयो भन्ने स्रोत पनि भेटिँदैन । यसरी नै रामभक्त, मोतीराम र धर्मदत्त ज्ञवालीका पालासम्म चर्चा नभएको भानुभक्तको आफ्नै जन्मलग्नकुण्डलीको कविता विष्णुमायाको ‘भानुभक्त मणिमाला’ प्रकाशनमा झुण्डिएर आयो । त्यतिका वर्षपछि भानुभक्तको खुद नाउँ र जन्ममितिका विषयमा नयाँ जानकारी आयो । तर पनि रङ्गनाथ शर्मा र विष्णुमायाले प्रस्तुत गरेको ‘भानुभक्त मणिमाला’ कृतिमा भानुभक्तको जन्ममिति, जन्मकुण्डली, देवीभक्त आचार्य (भानुभक्तको चिनाको नाउँ ?) र त्यसबारेको श्लोक राखिँदा त्यही तिथिमितिले नेपाली समाजमा जरा गाडिसकेको छ । अर्थात् समालोचक, जीवनी लेखक र जनजीवनले भानुभक्तको जन्म १८७१ असार २९ गते नै कायम गरिसकेका छन् । त्यतिमात्र होइन, नेपाल सरकारले समेत यही मितिलाई आधार बनाएर भानु द्विशतवार्षिकी मनाइसकेको छ । त्यसैले अब उनको जन्म मिति १८६९ सालमा सार्नुको कुनै तुक छैन र पाठकलाई यसै बेहोरामा मात्र चाकाचुली खेलाई रहन उपयुक्त पनि छैन । तर यतिहुँदाहुँदै पनि भानुभक्त जन्मेको वर्ष १८६९ साल नै हो भन्ने वैज्ञानिक आधार स्थापित भैसकेको बेहोरा पनि भुल्न चाहिं हुँदैन ।