२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


डा. केसीको अगुवाइमा प्रदर्शन, ‘लोकमान भ्रष्टाचारको नायक’ (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन १५ । स्वास्थ्य र शिक्षा क्षेत्र सुधार तथा भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गर्दै आन्दोलनरत् प्रा.डा. गोविन्द केसीको अगुवाइमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।

‘वाक विथ डा. केसी’ अभियान चलाउँदै आएका युवाहरुको आह्वानमा प्रदर्शन गरिएको हो । माइतीघरमन्डलाबाट सुरु गरिएको प्रदर्शनसहितको र्‍याली नयाँबानेश्वरसम्म पुगेको थियो ।

‘डा. केसीसँगै हिँडौं, भ्रष्टाचारविरुद्ध उत्रौं’ भन्ने आह्वानकासाथ भएको प्रदर्शनमा युवा, विद्यार्थी, सन्चारकर्मी, कलाकार, स्वास्थ्यकर्मीसहित सर्वसाधारणको ठूलो सहभागिता रहेको थियो ।

नयाँबानेश्वरमा गरिएको कोणसभामा डा. केसीले आफूले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लडिरहेको भन्दै साथ दिनेहरुलाई धन्यवाद दिए ।

सन्चारकर्मीहरुसँग कुरागर्दै उनले योपटक पनि आफ्नो अनशन सम्झौतामा टुंगिएको तर सम्झौतालगत्तै उल्लंघनको प्रयास भएपनि त्यसलाई उल्लंघन गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

डा. केसीले अख्तियार दुरपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई ‘भ्रष्टाचारको नायक’को संज्ञा दिँदै उनले समानान्तर सत्ता चलाएको र संविधानभन्दा माथि हुन खोजेको आरोप लगाए ।

लोकमानबारे सांसदहरु मौन बसेको भन्दै उनले ‘लोकतन्त्र वा लोकमानतन्त्रमध्ये एक रोज्न’ चुनौती दिए ।

स्वास्थ्य र शिक्षा क्षेत्र सुधारको माग गर्दै १६ दिनसम्म अनशनमा बसेका डा. केसीले सरकारसँग सहमति भएपछि अनशन तोडेका थिए ।

अनशन तोडेपनि अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग पूरा नभएको भन्दै उनले ‘अब खाएरै लड्ने दिन’ भएको बताएका थिए ।

र्‍यालीमा सहभागीहरुले अख्तियार प्रमुख लोकमानसिंहको सम्पत्ति विवरण सार्वजनिक हनुपर्ने मागसहितको प्लेकार्ड बोकेका थिए ।

यसैबीच, युवाहरुको समूहले सूचनाको हक प्रयोग गर्दै आइतबार (भोलि) अख्तियारमा पुगेर लोकमानसिंह कार्कीको सम्पत्ति विवरण माग गर्दै निवेदन दिने भएका छन् ।

भिडियो हेर्नुहोस्