Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


मुलरलाई किन हटाउन चाहन्थे ट्रम्प !


0
Shares

वासिंटन, वैशाख ६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुससँगको साँठगाँठबारे अनुसन्धान गर्न नियुक्त गरिएका व्यक्तिलाई नै हटाउने प्रयास गरेको खुलासा भएको छ ।

विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले तयार पारेको ४४८ पृष्ठ लामो प्रतिवेदनमा सो खुलासा भएको हो । प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले विशेष अनुसन्धानकर्ता मुलरलाई नै हटाउने कोसिस गरेको उल्लेख छ ।

प्रतिवेदनमा मुलरलाई पदबाट हटाउनका लागि सन् २०१७ को जुनमा ह्वाइट हाउसका पूर्व वकिल डान म्याकगानबाट सम्पर्क गरेको उल्लेख छ । मुलरले आफ्नो प्रतिवेदन हालैमात्र बुझाएका हुन् ।

प्रतिवेदनमा उल्लेखित विषयहरु सार्वजनिक हुने क्रम जारी छ । यद्यपि प्रतिवेदनले ट्रम्प–रुसबीच साँठगाँठ भएको कुनै ठोस निष्कर्ष दिन सकेको छैन । बिहीबार ह्वाइट हाउसमा प्रतिवेदनको मुख्य अंश सार्वजनिक गरिएको छ ।

ट्रम्पको कानुनी टोलीले प्रतिवेदनलाई आफूहरुको पूर्ण जितको संज्ञा दिएको छ । राष्ट्रपति ट्रम्पले एक तस्वीर पोस्ट गर्दै ‘कुनै साँठगाँठ छैन, कुनै बाधा छैन, खेल समाप्त’ भनेका छन् । अमेरिकी महान्यायाधिवक्ताले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी साठगाँठ भएको भन्नेबारे विशेष अनुसन्धानकर्ता मुलरले त्यसमा कुनै अमेरिकी वा ट्रम्प अभियानका कोहीले पनि षड्यन्त्र गरेको वा मिलेमतो गरेको कुनै प्रमाण फेला नपारेको बताएका छन् ।

मुलर प्रतिवेदन सार्वजनिक गर्नुअघि महान्यायाधिवक्ता विलियम बारले पत्रकार सम्मेलन गरेका थिए । उनले विशेष अनुसन्धानकर्ताले रुसी साठगाँठमा ट्रम्पको चुनावी अभियानमा जोडिएका कसैसँग मिलेर अमेरिकी कानुन तोड्ने कुनै षड्यन्त्र भएको प्रमाण फेला नपारेको बताए ।

बारले उक्त चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनका ईमेल विकिलिक्स वेबसाइटमा प्रकाशन गर्नुमा ट्रम्प अभियानका कसैको पनि गैरकानुनी भूमिका भएको प्रमाण नभएको बताए । ट्रम्पकी प्रतिश्पर्धी हिलरी क्लिन्टन र विकिलिक्स वेबसाइटले सार्वजनिक गरेका गोप्य ईमेलमा समेत त्यसको कुनै प्रमाण नपाइएको उनको भनाइ छ । उनले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय आफ्नै भएकोसमेत दाबी गरे । मुलरले २२ महिना अनुसन्धान गरेर प्रतिवेदन तयार पारेका हुन् । (एजेन्सी)