अक्कल कुँवर र सञ्जय कार्की (इमेज)
काठमाडौं, वैशाख ५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तयारी नपुगेको भन्दै वैशाख ७ देखि ९ गतेका लागि तय गरेको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ ।
महाधिवेशनको पूर्वनिर्धारित मिति स्थगित भएपछि अब अर्को मिति तय गर्न वैशाख ८ गते अध्यक्षमन्डलको बैठक बोलाइएको छ ।
बैठकले महाधिवेशनको अर्को मिति तय गरेपनि महाधिवेशनका लागि भने अझै आवश्यक तयारी हुन सकेको छैन ।
आन्तरिक विवादका कारण महाधिवेशनका लागि आवश्यक तयारी हुन नसकेपछि राजपाको महाधिवेशन स्थगित गरिएको हो ।
माघ १५ गतेसम्म साधारण सदस्यता वितरण गरिसक्ने कार्यतालिका तय गरेको भएपनि पटक–पटक सदस्यता वितरणको समयसीमा बढाउँदा पनि यसको टुंगो लाग्न सकेन ।
विभिन्न ६ ओटा मधेसकेन्द्रित दल मिलेर गठन भएको राजपाको सदस्यता वितरणमा पूर्वपार्टीअनुसार गुटबन्दी चलेपछि सदस्यता वितरणमा विलम्ब भएको हो ।
सदस्यता वितरणमा भएको विलम्बसँगै पूर्वनिर्धारित समयमा वडा, क्षेत्रीय, प्रदेश र जिल्ला अधिवेशन पनि हुन सकेन ।
राजपा नेपाल अध्यक्षमन्डलका सदस्य अनिलकुमार झाले राजनीतिक परिस्थिति र सदस्यता वितरणमा भएको ढिलाइले निर्धारित मितिमा महाधिवेशन हुन नसकेको बताए ।
त्यसो त पार्टीको विधान, निर्देशिका, नियमावलीलगायतका विषयमा अझै पनि सर्वसम्मति हुन सकेको छैन ।
यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहसम्मका कमिटीको निर्माण र नेतृत्व टुंगो लगाउने प्रक्रियाबारे पनि अझै एकमत छैन ।
राजपाभित्र पूर्ण महाधिवेशन गर्ने कि विशेष भन्ने विषयमा पनि पार्टीभित्र विवाद छ ।
अध्यक्षमन्डलका सदस्यहरुमध्ये पनि केही सदस्यले विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् भने केहीले संगठनलाई बलियो बनाउन र कार्यकर्ता प्रशिक्षित गर्नका लागि पूर्ण महाधिवेशन नै गर्नुपर्ने अडान लिँदै आएका छन् ।
महाधिवेशनको अर्को मिति तय नहुँदै राजपाले महाधिवेशन मूल आयोजक समितिको संयोजक तोकेको छ ।
नेता तथा कार्यकर्ताको उत्साह बढाउन र महाधिवेशनको तयारी तीव्रगतिमा अघि बढाउनका लागि भन्दै अध्यक्षमन्डलका सदस्य महन्थ ठाकुरलाई महाधिवेशन मूल आयोजक समितिको संयोजक तोकिएको राजपाको जिकिर छ ।
२०७४ साल वैशाख ७ गतको पार्टी एकता घोषणासभामा नेताहरुले एक स्वरमा वर्ष दिनभित्र महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्