
काठमाडौं, वैशाख ४ । संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको सुनुवाइ गर्ने भएको छ ।
समितिको आज दिउँसो २ बजे बस्ने बैठकमा सुनुवाइका लागि थपलियालाई बोलाइएको छ । यसअघि समितिले थपलियाविरुद्ध उजुरी दर्ता गर्नेहरुसँग छलफल गर्ने भएको छ ।
थपलियाविरुद्ध कर्मचारी समायोजन, स्थानीय विकास मन्त्रालयमा हुँदा बजेट नदिएको जस्ता प्रसंग जोडेर ६ वटा उजुरी परेका छन् ।
यस्तै समितिले सर्वोच्च अदालतका प्रस्तावित पाँच जना न्यायाधीशमाथि प्रश्न उठाउँदै परेका उजुरीमाथिसमेत सुनुवाइ गर्दै छ । सेटिङमा मुद्दा मिलाएको, जग्गा किर्ते गरेको आरोपसहित प्रस्तावित न्यायाधीशहरूको योग्यतामाथि प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेका छन् ।
समितिले उजुरीकर्ताहरूलाई छलफलका लागि आज बोलाएको छ । न्यायपरिषद्बाट सिफारिस पाँच जनामध्ये मनोजकुमार शर्मा, हरि फुयाँल, प्रकाश ढुंगानामाथि व्यक्तिगत उजुरी परेका छन् । एउटा उजुरीमा सिफारिस नै खारेज हुनुपर्ने माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्