१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नेवि संघमा फेरि अर्को विवाद, महाधिवेशन बहिस्कार गर्ने चेतावनी


0
Shares

काठमाडौं, साउन २९ । आइतबार हुने भनिएको नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनको निर्वाचन प्रक्रियाका लागि विवादित जिल्लाबाट थपिएका महाधिवेशन प्रतिनिधिको नाममा विवाद आएको छ ।

संघको महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले गठन गरेको निर्देशक समितिले गत मंगलबार राति विवादित ११ जिल्लामा १० जनाभन्दा नबढाइ प्रतिनिधि थप गर्ने सहमति गरेको थियो ।

सहमतिविपरीत १० भन्दा बढी प्रतिनिधि थपिएको गुनासो आएको समिति सदस्य गुरुराज घिमिरेले राससलाई जानकारी दिए ।

‘संघको राजनीतिमा लागेका विद्यार्थीको भविष्यमाथि कुठाराघात नहुने गरी सहमतिकै प्रक्रियाबाट महाधिवेशन सम्पन्न गर्छौं । यसअघि निर्देशक समितिको बैठकमा भएको सहमतिकै आधारमा अघि बढेर समस्याको समाधान निकाल्र्छौं–उनले भने ।

निर्वाचन समितिले मतदाताको नामावली प्रकाशन गर्ने तयारी गरेपछि शनिबार संघका केही नेताले रिपोर्टर्स् क्लबमा पत्रकार सम्मेलन गरी अनशनका नाममा फर्जी विद्यार्थीलाई प्रतिनिधि बनाउन लागिएको भन्दै महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका पशुपति बहुमुखी क्याम्पसका स्ववियु सभापति मनोज वैद्यलगायतका नेताले यस्तो चेतावनी दिएका हुन् ।

असन्तुष्ट समूहले कांग्रेस केन्द्रीय कार्यालय, सानेपा र पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकन्ठस्थित निवासमा पनि ‘फर्जी विद्यार्थीलाई प्रतिनिधि बनाउन पाइँदैन, भागबन्डामा महाधिवेशन गर्न पाइँदैन’ भनी नाराबाजी गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं निर्देशक समितिका सदस्य प्रदीप पौडेल समितिको बैठकमा भएको सहमतिअनुसार चले समस्या नआउने बताउँछन् ।

‘समस्या समाधान गर्न आज दिउँसो निर्देशक समिति संयोजक डा. प्रकाशशरण महतले डाक्नुभएको बैठकमा समिति सदस्यद्वय गोविन्द भट्टराई र गुरुराज घिमिरे नै उपस्थित हुनुभएन, हामी सहमतिबाटै समस्या समाधान गर्नुपर्ने पक्षमा छौं’–उनले भने ।

निर्वाचन समिति संयोजक भरतप्रसाद खरेल निर्देशक समितिले मतदाता नामावली दिएपछि शनिबार साँझसम्म नामावली प्रकाशन गरी आइतबारदेखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरिएको बताउँछन् ।

‘समितिले टाइप गरेको मतदाता नामावली उडेपछि शनिबार ५ बजे प्रकाशन गर्ने भनिएको नामावली टाँस गर्न सकिएन, निर्देशक समितिले नाम दिनेबित्तिकै निर्वाचन कार्यक्रमको प्रक्रिया अघि बढ्छ’–उनले भने ।

साउन २५ गते सम्पन्न गर्ने भनिएको संघको ११औं महाधिवेशन प्रतिनिधि विवादका कारण एक साताभन्दा बढी समय लागेपछि जिल्ला–जिल्लाबाट आएका प्रतिनिधि समस्यामा परेका छन् ।

साउन २३ गते उद्घान भएको महाधिवेशनको अझै बन्दसत्र सुरु हुन सकेको छैन । बन्दसत्र नगरी निर्वाचन कार्यक्रम अघि बढाउने निर्देशन समितिले जनाएको छ ।

विं सं. २०६४ पछि संघको महाधिवेशन भएको छैन । सातपटक मिति तोकेर पनि विविध कारणले ११औं महाधिवेशन स्थगित हुँदै आएको थियो ।

आठौंपटक पनि महाधिवेशनले नेतृत्व छनोट गर्नेमा शंका उत्पन्न भएको महाधिवेशन प्रतिनिधि तेजबहादुर बानियाँको भनाइ छ । रासस