
काठमाडौं, साउन ३० । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’को ११ औं महाधिवेशनमा प्रतिनिधिको नामावली प्रकाशन गरिएसँगै नयाँ नेतृत्वको लागि चुनाव हुने करिब निश्चित देखिएको छ ।
विवादकै बीच महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिएको छ । नामावली प्रकाशनसँगै निर्वाचन समितिले निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका अनुसार महाधिवेशन उद्घाटन भएको दशौं दिनको दिन मंगलबार चुनाव गरिने छ । निर्वाचन समितिका सदस्य मेघराज पोखरेलले नाममा देखिएका सामान्य गल्ती सुधारेर प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिने र मनोनयन पनि गरिने जानकारी दिए । उनले पार्टीको निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महत र नेविसंघ अध्यक्ष रञ्जित कर्ण दुबैले ३ हजार ७ सय ६० महाधिवेशन प्रतिनिधिको नामावलीलाई अन्तिम रुप दिएर हस्ताक्षर गरेकाले अब कुनै सुधार गर्न नसकिने बताए ।
निर्वाचन समितिले आइतबार दिउँसो ३ देखि बेलुका ६ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकेको छ । त्यसपछि बेलुका साढे ७ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिनेछ ।
सोमबार बिहान १० देखि आधा घण्टासम्म उम्मेदवारको नाममा दावी विरोध र त्यसपछि उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको मनोनयन पत्रमा दाबी बिरोध गर्न चाहनेले सोमबार साढे १२ देखि साढे ३ बजे गर्न सक्नेछन् । उम्मेदवारको नाम फिर्ता लिन चाहनेका लागि साढे १ देखि साढे ५ बजेसम्मको समय तोकिएको छ ।
सोमबार ६ बजे भने उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । मंगलबार बिहान ७ देखि बेलुकी ७ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतदान गरिने निर्वाचन समितिले जनाएको छ ।
नेविसंघले प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने गरी विधानको टुङ्गो लगाएको छ । जसअनुसार एक अध्यक्ष, १३ उपाध्यक्ष, तीन महामन्त्री, १६ सहमहामन्त्री, एक कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्