
अपडेटः
राजाराम गौतम (इमेज)
काभ्रे, साउन ३१ । काभ्रेको बिर्तादेउरालीमा सोमबार दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।
२५ जनाको घटनास्थलमै र घाइते रमेश गौतमको उपचारका लागि शिक्षण, काठमाडौं अस्पतालमा ल्याइ पुर्याएपछि मृत्यु भएको हो ।
मृतक सबैको सनाखत हुन सकेको छैन । दुर्घटनामा अरु ३५ बढी घाइते भएका छन् ।
काठमाडौंबाट कोसीपारी जाँदै गरेको अरनिको यातायात समितिको बा३ख १०६ नम्बरको बस बिर्तादेउराली–७ खहरेखोलानजिकैको डाँडाबाट करिब ४ सय ५० मिटर तल खसेर क्षत–विक्षत भएको छ ।
दुर्घटनापछि स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी उद्धारमा खटिएका थिए । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ ।
कच्चीबाटोका कारण घाइतेलाई अस्पताल ल्याउन कठिनाइ भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
उनीहरु मध्ये १३ जनालाई त्रिवि शिक्षण अस्पताल र १५ जनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा राखिएको छ । अरु घाइतेलाई एम्बुलेन्समार्फत् धुलिखेल अस्पताल ल्याइएको छ ।
दुर्घटना ठूलो संख्यामा मानवीय क्षति भएपछि काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी र प्रहरी प्रमुख एसपी राजेश बास्तोला पनि घटनास्थल गएका थिए ।
दुर्घटनास्थल बिर्तादेउराली धुलिखेलबाट ४५ किलोमिटर टाढा पर्दछ ।
कच्चीबाटो र क्षमताभन्दा बढी यात्रु राखेकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा ८० जनाभन्दा बढी यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस्