
काठमाडौं, भदौ २ । नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनअन्तर्गत विहान सम्पन्न मतदानको मतगणना थालिएको छ । अहिले विद्युतीयबाहेक अरु मतगणना भइरहेको हो ।
जारी मतगणनामा अध्यक्षमा नैनसिंह महरले अहिलेसम्म ६३६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै मनोजमणि आचार्य दोस्रो स्थानमा छन् । आचार्यको ५९५ मत प्राप्त भएको छ ।
त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले ७७७ मतका साथ अग्र स्थानमा छन् । त्यसैगरी दिपक भट्टराई ६२४, सरोज थापा ६९१ र हिमालदत्त श्रेष्ठले ५१७ मत प्राप्त गरेका छन् ।
विद्युतीय मतदान भएकाले मतगणना थालेको तीन घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चुन्न २० घण्टा लगाएर मतदान गरिएको थियो ।
कांग्रेस पार्टी कार्यालय सानेपामा हिजो सवा १२ बजेबाट थालिएको मतदान आज विहान ८ बजेपछि सकिएको हो । मत हाल्न विद्यार्थी रातभर लाइनमा जाग्राम बसेका थिए ।
तीन हजार दुई सय ६० मतदाताले नेतृत्व चुन्न मत दिएको नेविसंघ नेता युपी लामिछानेले जानकारी दिए । उम्मेदवार धेरै भएकाले मतदानमा ढिलाई भएको थियो ।
एक अध्यक्षका लागि सात जना, २ महामन्त्रीका लागि ६ जना, ११ जना उपाध्यक्षका लागि ७४ जना र १ जना कोषाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
१ सय २९ पदका लागि ६ सय ८५ जनाको उम्मेदवारी परेको छ । १ सय ५१ सदस्यीय कार्यसमिति मध्ये १ सय २९ जना मतदानबाट र बाँकी मनोनित हुनेछन् ।
अध्यक्ष, ११ उपाध्यक्ष, दुई महामन्त्री, १३ सहायक महामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुने छन् ।
प्रतिक्रिया दिनुहोस्