
काठमाडौं, भदौ ८ । अध्ययन र प्रशिक्षणबिना कर्मकान्ड, ज्योतिष पेसा अपनाउनेको संख्या बढ्न थालेपछि नेपाल पञ्चांग निर्णायक समितिले दक्ष पन्डित बनाउने उद्देश्यले ६ महिने कर्मकान्ड एवं ज्योतिष प्रशिक्षण सुरु गरेको छ ।
प्रशिक्षणमा कर्मकान्ड र ज्योतिष पेसा अपनाउन चाहने ३९ जना प्रशिक्षार्थीको सहभागिता छ ।
असारदेखि सुरु भएको प्रशिक्षण मंसिरमा सकिने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
‘समाजमा शास्त्रीय आधारमा वैदिक कर्मकान्ड र ज्योतिष कर्म गराउनसक्ने आधिकारिक पन्डित बनाउने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो, ज्योतिषमा २६ र कर्मकान्डमा १३ सहभागीले प्रशिक्षण लिइरहेका छन्’–उनले भने ।
सहभागीलाई अध्यक्ष गौतम, प्रा. श्रीकृष्ण अधिकारी, प्रा.डा. देवमणि भट्टराई, प्रा. मंगलदास प्रधानांग, पुरुषोत्तम भट्टराई, उपेन्द्र भट्टराई, नरोत्तम भट्टराईलगायतले प्रशिक्षण दिने समितिले जनाएको छ ।
प्रशिक्षणका लागि सहभागीबाट रु दुई हजार शुल्क लिइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्