
काठमाडौं, भदौ १० । नवनियुक्त उद्योगमन्त्री नवीन्द्रराज जोशीले समुदायमा आधारित उद्योगलाई प्राथमिकता दिएर कार्यक्रम तथा नीति तयार गर्ने बताएका छन् ।
शपथ लिइसकेपछि शुक्रबार मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा उनले कर्मचारीलाई निर्देशन दिँदै सार्वजनिक सेवालाई जनमुखी बनाउन जोड दिए ।
उनले भने–‘जनताले अनुभूति गर्नेगरी सेवा प्रदान गर्नुपर्छ, उनीहरुले पाउने सुविधामा कमी आउनु भएन ।’
मन्त्री जोशीले कर्मचारीले अगाडि बढाएका विषयलाई आफूले सहज तुल्याउने उल्लेख गर्दै जिम्मेवार भएर काम गर्न निर्देशन दिए ।
कृषिमा आधारित उद्योग तथा रोजगारी प्रवद्र्धन गर्ने क्षेत्रले विशेष प्राथमिकता पाउनुपर्नेमा जोड दिँदै उनले मन्त्रालयको स्रोत र साधनको अधिकतम् प्रयोग गरेर नतिजा निस्कने गरी काम गर्नुपर्नेमा जोड दिए ।
आफूले काठमाडौं महानगरपालिकाको उपमेयर भएर गरेका सुधारका अनुभव सुनाउँदै मन्त्री जोशीले नयाँ ढाँचाकासाथ काम गरेर एक महिनाभित्र मन्त्रालयमा काम भएको छ भन्ने स्पस्ट सन्देश दिन चाहेको बताए ।
सो अवसरमा उद्योगसचिव शंकरप्रसाद कोइरालाले मुलुकलाई औद्योगिकीकरण नगरेसम्म आर्थिक समृद्धि नहुने धारणा राख्दै त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
औद्योगिक क्षेत्रमा नियमित विद्युत् अवरुद्ध, पूर्वाधारको अभाव, बजार व्यवस्थापनमा समस्या, कच्चापदार्थको अभाव एवं मैत्रीपूर्ण व्यवहार नभएकाले यस क्षेत्रले आकर्षक बन्न नसकेको नवनियुक्त मन्त्री जोशीलाई उनले जानकारी गराए । रासस
प्रतिक्रिया दिनुहोस्