
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, चैत २९ । सरकारले कर्मचारी समायोजन सम्पन्न भएको घोषणा त गर्यो तर त्यसको सकस भने अझै सकिएको छैन ।
सरकारले कर्मचारीलाई विश्वासमा लिन नसक्नु र कर्मचारीले संघीयताको मर्मलाई नबुझ्दा त्यसको मार भने सर्वसाधारणमाथि पर्न थालेको छ । त्यसैको एक उदाहारण हो, सरकारी चिकित्सकहरुको आन्दोलन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैत १४ गते कर्मचारी समायोजनको सम्पूर्ण काम पूरा भएको घोषणा गर्यो ।
मन्त्री लालबाबु पण्डितले समायोजनको सम्पूर्ण काम पूरा भएको र छिटफुट गुनासालाई यसै महिना सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
तर, मन्त्रीले गरेको घोषणा सेलाउन नपाउँदै स्वास्थ्य सेवाका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । सरकारी अस्पतालमा उपचारका लागि दैनिक जाने झन्डै ४० हजार बिरामी मारमा परेका छन् ।
सरकारी चिकित्सकहरुले प्रदेश र स्थानीय तहमा सीमित गर्दा आफूहरुको वृत्तिविकास र विशेषज्ञतामा नै ह्रास आउने भन्दै संघमै समायोजन गर्न माग गरेका छन् । तर, सरकारले भने उनीहरुको मागप्रति कुनै वास्ता गरेको छैन ।
काठमाडौं छाड्न नचाहने केही चिकित्सकहरुको अगुवाइमा आन्दोलन भइरहेको भन्दै सरकारले त्यस्तासँग वार्ता गर्नुको औचित्य नभएको बताउँदै आएको छ ।
यद्यपि, बिहीबार सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने थोरै आशा जगाउने अभिव्यक्ति दिए ।
उता, सामान्य प्रशासनमन्त्री पण्डितले भने बल प्रयोग गरेर भएपनि अस्पताल सुचारु गर्ने बताउँदै आएका छन् ।
सरकार बल प्रयोग गरेर भएपनि चिकित्सकहरुको आन्दोलनलाई दबाउन खोजेजस्तै देखिन्छ ।
गत बुधबार सरकारले प्रहरी र अस्पताल प्रशासन परिचालन गरेर वीर अस्पतालको ओपीडी सेवा खुलाउने प्रयास गर्यो । फेरि पनि सरकारको प्रयासले सार्थकता पाउन सकेन ।
सरकारी रवैयाले चिकित्सकहरुलाई झनै आक्रोशित बनाएको छ । सरकारी चिकित्सकहरुको आन्दोलनमा नेपाल चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएको छ । उनीहरुले पनि सरकारलाई कडा जवाफ फर्काउँदैछन् ।
चिकित्सक र सरकारबीचको ‘जुँगाको लडाइँ’मा भने गरिब, निमुखा बिरामीहरु परेका छन् । जो सुविधासम्पन्न निजी अस्पतालमा जान सक्दैनन् ।
मुलुक भर्खरमात्र संघीयतामा प्रवेश गरेकाले कर्मचारी समायोजनको काममा अलमल देखिनु आस्वभाविक होइन । समस्यालाई सामूहिक विवेकबाट समाधान गर्नेभन्दा पनि आफ्नो शक्ति देखाउने दम्भले अहिले समस्या निम्त्याएको छ ।
सरकारले पनि चिकित्सकहरुलाई विश्वासमा लिन सकिरहेको छैन ।
उता, स्वास्थ्यजस्तो अत्यन्तै संवेदनशील र मानवीय भावनासँग जोडिएको विषयलाई चिकित्सकहरुले आफ्नो हतियार बनाइरहेका छन् ।
विकल्पका बाटाहरु खोज्नुभन्दा पनि एकले अर्कोलाई गलाउने रणनीति बनाउँदा समस्या सुल्झनेभन्दा बल्झने दिशामा अघि बढेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्