
काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।
उनले भने–‘संविधान संशोधनजस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा खोजिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।’
सिंगापुरमा पेटको पाचनप्रणालीसम्बन्धी उपचार गराइ शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले ‘संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नाका लागि नै संशोधन हुन लागेको हो’–भने ।
सभापति देउवा उपचारका लागि यही भदौ १० गते धर्मपत्नी आरजु देउवाकासाथ त्यसतर्फ प्रस्थान गरेका थिए ।
पार्टी सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक विदेश गएका हुन् । ‘म नितान्त स्वास्थ्य उपचारमा गएको हुँ, मैले त्यहाँ रहँदा कसैसँग राजनीतिक भेटघाट गरिनँ’–सन्चारकर्मीको जिज्ञासमा सभापति देउवाले भने ।
‘तपाइँहरु प्रतिपक्षमा रहँदा भूकम्पपीडितलाई एकमुस्ट रु दुई लाख दिन तत्कालीन सरकारसँग भएको सहमतिलाई किन वर्तमान सरकारले कार्यान्वयन नगरेको ?’ भन्ने सन्चारकर्मीको अर्काे जिज्ञासामा उनले भने–‘अब यो निर्णय तत्काल कार्यान्वयन हुन्छ, यस विषयमा सरकारले के गरिरहेको छ, म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।’
पार्टीका नेता तथा कार्यकर्ताबीच सरसल्लाह गरी पार्टीलाई अगाडि बढाउने जानकारी दिँदै सभापति देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने जानकारी दिए ।
हाल सभापतिले पार्टी पदाधिकारीमा गर्ने मनोनयन पद रिक्त रहेको छ । सभापति देउवालाई पार्टीका कोषाध्यक्ष सीतादेवी यादव, कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय सदस्य तथा कार्यकर्ताले विमानस्थलमा स्वागत् गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्