फाइल तस्वीर
काठमाडौं, चैत २९ । पार्टीका तल्लो तहका संरचनाको एकता प्रक्रिया टुंगो लगाउन नेकपाका शीर्ष नेताहरु गोप्य बैठकमा बसेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायतका शीर्ष नेताहरु चन्द्रागिरीस्थित रिसोर्टमा पुगेका हुन् ।
उनीहरु हिजो साँझ चन्द्रागिरी रिसोर्टमा पुगेर गोप्य छलफलमा बसेका हुन् । छलफलमा माधवकुमार नेपाल भने सहभागी छैनन् ।
आवासीय बैठक गरेका उनीहरुबीच पार्टी एकता, सरकार सञ्चालनलगायतका विषयमा कुराकानी भएको बताइएको छ । पार्टी एकताको काम टुंगिन नसक्दा नेकपाभित्र विवाद बढ्दै गएपछि शीर्ष नेताहरु त्यसलाई टुंगोमा पु¥याउने कसरतमा लागेका हुन् ।
त्यसैगरी कतिपय मन्त्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएको गुनासो आएपछि त्यसबारेमा पनि शीर्ष नेताहरुबीच छलफल भएको बताइएको छ ।
पार्टी एकीकरण भएको एक वर्ष पुग्न लाग्दा पनि नेकपाको तल्लो तहको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन । प्रदेश कमिटीभन्दा तल एकता हुनै सकेको छैन ।
२२ वटा जनवर्गीय संगठनमध्ये कानुनी व्यवसायी र इन्जिनियरको संगठनबाहेकका कुनै पनि संगठनको एकता टुंगो लागेको छैन । नयाँ वर्षको पहिलो दिन नै तल्लो तहसम्म सबै एकता टुंगो लगाएर सर्कुलर जारी गर्ने तयारी भएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्