३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


महालक्ष्मी नगरपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र


0
Shares

धनकुटा, चैत २९ । धनकुटाको महालक्ष्मी नगरपालिकाले सवै वडामा नगर स्वास्थ्य केन्द्र स्थापना गरेको छ । ‘हरेक वडामा एक स्वास्थ्य संस्था’ नीतिअनुसार नगरपालिकाले नगर स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

नगरक्षेत्रवासीले आफ्नै गाउँघरमा सहज रुपले स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले नगरक्षेत्रभित्रका ९ वटै वडामा नगर स्वास्थ्य केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ । हरेक वडाका नगर स्वास्थ्य केन्द्रमा एक जना अहेव र एक जना कार्यालय सहयोगीस्तरको जनशक्ति कायम गरिएको छ ।

नगर स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण, औषधि तथा जनशक्ति नगरपालिकाले आन्तरिक स्रोतबाट जुटाएको छ । स्वास्थ्य केन्द्रमा नियमित रुपमा महिलाको गर्भजाँच, बालबालिकालाई खोप, सामान्य उपचार र नेपाल सरकारबाट निःशुल्क पाइने ४० प्रकारका औषधीको व्यवस्था गरिएको छ ।

स्थानीयलाई अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन नगर स्वास्थ्य केन्द्र स्थापना गरिएको उपमेयर मञ्जु कार्कीले जानकारी दिइन् । नगर स्वास्थ्य केन्द्र सञ्चालन गर्न सम्वन्धित वडाका वडाध्यक्ष नेतृत्वमा ७ सदस्यीय संचालक समिति गठन गरिएको छ ।