झापा, चैत २७ । आफूलाई ज्यान मार्ने धम्की आएको विषयमा सांसद राजेन्द्र लिङ्देनले सार्वजनिकरुपमा मुख खोलेका छन् ।
राप्रपाका महामन्त्री एवं सांसद लिङ्देनले बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी त्यसबारेमा जानकारी गराएका हुन् ।
यही चैत ७ गतेदेखि आफ्नो मोबाइल र ह्वाट्सएपमा एसएमएस र अडियो सन्देश पठाएर ज्यान मार्ने धम्की आएको उनको भनाइ छ ।
एक सातादेखि अज्ञात व्यक्तिले सांसद लिङ्देनलाई ज्यान मार्न ५० लाख रुपैयाँको ‘सुपारी’ लिएको भन्दै फोन आइरहेको घटना सार्वजनिक भएपछि उनले त्यसबारेमा मिडियासामु बोलेका हुन् ।
मोबाइल नम्बर ९८४३९४०२९४ र ९८१३५४४९२९ बाट ज्यान मार्नेसम्बन्धी सन्देश आएको उनले जानकारी दिए ।
लिङ्देन झापा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।
घटनाका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये आफूलाई धम्क्याउने तिलकदास रहेको अनुसन्धान अधिकारीलाई उद्धृत गर्दै लिङ्देनले जानकारी दिए ।
लिङ्देनले स्थानीय राजनीतिक दलकै नेतासँग पनि पक्राउ परेका व्यक्तिको सम्पर्क भएको दाबी गरे । ती नेतालाई आफूले राम्ररी चिन्ने भएकाले धम्कीबाट त्रसित नभइ अचम्ममा परेको उनले बताए । ती नेताको नाम भने सांसद लिङदेनले खुलाएनन् ।









प्रतिक्रिया दिनुहोस्