३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


चिकित्सक संघ आक्रोशितः बोलायो आकस्मिक भेला


0
Shares

काठमाडौं, चैत २७ । सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । उसले यसबारेमा छलफल गर्न चिकित्सकहरुको आकस्मिक भेला नै बोलाएको छ ।

सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द रहेको टिकट काउन्टर खुलाउन वीर अस्पतालमा प्रहरी प्रयोग गरेको भन्दै नेपाल चिकित्सक संघ आक्रोशित बनेको हो ।

भावी रणनीति तय गर्न भन्दै विहीबार भेला बोलाएको हो । उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिलाई भोलि २ बजे भेला हुन बोलाइएको महासचिव डा. लोचन कार्कीले जानकारी दिए ।

चिकित्सकमाथि भएको धरपकडको निन्दा गर्दै संघले समायोजनसम्बन्धि समस्याको समाधान वार्ताबाटै खोज्न पनि सरकारलाई आग्रह गरेको छ ।

सम्वादलाई लत्याएर चिकित्सक पेशालाई नै मानमर्दन गर्ने गरी अभिव्यक्ति दिइएको, प्रहरी लगाएर धरपकड गर्दै चिकित्सकहरुलाई चिढ्याएको चिकित्सक संघको भनाइ छ ।

सरकारले चिकित्सकलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेपछि सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण केही दिनयता सरकारी अस्पतालमा पुग्ने विरामीले भने सेवा पाएका छैनन् ।

बुधवार वीर अस्पतालमा प्रहरीले हस्तक्षेप गरी बन्द ताला खुलाएपछि चिकित्सकहरुले अस्पतालको प्रांगणबाटै सेवा दिएका थिए ।