
काठमाडौं, चैत २५ । कर्मचारी समायोजनको विरोध गर्दै सरकारी चिकित्सकहरुले गरेको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालहरु विगत चार दिनदेखि बन्द छन् ।
चिकित्सकहरुले आकस्मिकबाहेक अरु सेवा छाड्दा यसको प्रत्यक्ष मार भने बिरामीहरुलाई परेको छ ।
देशभरका १४ सय सरकारी चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बहिस्कार गर्दा बिरामी मर्कामा परेका छन् ।
कर्मचारी समायोजनले ८ देखि ११औं तहसम्मका चिकित्सकहरुलाई प्रदेश र स्थानीय तहमा खुम्च्याउन खोजेको भन्दै विरोधमा उत्रिएका चिकित्सकहरुले गत शुक्रबारदेखि सेवा छाडेका हुन् ।
चिकित्सकहरुले यसअघि पनि समायोजनको विरोध गर्दै अस्पताल बन्द गरेका थिए ।
स्वास्थ्य मन्त्रालयले उनीहरुको माग सम्बोधन गर्ने भन्दै यसअघि नै सम्झौता गरेका थियो ।
तर, समायोजनले कुनै एउटा जिल्लामा खटाएको चिकित्सक अर्को जिल्लाका जान नपाउने व्यवस्थासहित समायोजन गरिएको नाम सार्वजनिक गरिएपछि उनीहरु थप आन्दोलित भएका हुन् ।
सरकारले गरेको समायोजनले आफूहरुको वृत्तिविकास नहुने र सरुवा–बढुवासमेत रोकिएको भन्दै चिकित्सकहरुले विरोध जनाएका हुन् ।
आन्दोलनरत् चिकित्सकहरुले आफूहरु सामूहिक राजीनामा दिनसमेत तयार रहेको भन्दै सबै सरकारी चिकित्सकहरुलाई केन्द्रअन्तर्गत् राखेर प्रदेश र स्थानीय तहमा खटाउन माग गरेका छन् ।
चिकित्सकहरुको आन्दोलनका कारण बिरामीहरु भने उपचार सेवाबाट बन्चित भएका छन् ।
चार दिनदेखि अस्पताल ठप्प हुँदा धेरै बिरामी उपचार नै नपाइ घर फर्कन विवश छन् ।
कान्ति बाल अस्पतालमा कार्यरत् चिकित्सकहरुले भने बाहिरबाटै ओपीडीकक्षबाट सेवा दिइरहेका थिए ।
कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राईले बालबालिकाको स्वास्थ्य संवेदनशील हुने भएकाले चिकित्सहरुलाई अनुरोध गरेर सेवा दिन आग्रह गरेको बताए ।
तर, सरकारले माग सम्बोधन नगर्ने हो भने धेरै दिनसम्म यसरी सेवा दिन नसक्ने उनले बताए ।
स्वास्थ्य मन्त्रालयले भने संघीय निजामती ऐनले सरकारी चिकित्सकहरुको समस्याको समाधान गर्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले चिकित्सकहरुको माग सम्बोधन गर्न पहल भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्