११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


प्रादेशिक अस्पतालमा प्रविधियुक्त प्रयोगशाला


0
Shares

लमही, चैत २५ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ ।

प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

‘हामीले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा स्मार्ट ल्याव स्थापना गर्न लागेका छौँ,’ उनले भने, ‘त्यसका लागि सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको छ ।’

करीब रु तीन करोड लागतमा प्रविधिमैत्री प्रयोशाला सञ्चालन हुन लागेको उनले बताए जसमा सबै काम कम्प्युटर प्रणालीबाट हुने उनको भनाइ थियो ।

‘हामीले तुलसीपुरलाई नेपालकै स्वास्थ्य नगरका रुपमा परिचित बनाउने योजना बनाएका छौँ,’ उनले भने, ‘स्मार्ट ल्याव शुरु हुनेबित्तिकै अमेरिकालगायत ठूला देशमा गरिने ल्याव तुलसीपुुरमै हुन्छ ।’

साथै उनले तुलसीपुरमा मोतियाविन्दुको समस्या निराकरण गर्ने योजनाअनुसार अघि बढेको बताए । ‘हामीले मोतियाविन्दुमुक्त तुलसीपुर बनाउन मुख्यमन्त्री, आँखा रोग विशेषज्ञ सन्दुक रुइतको हातबाट कार्यक्रम उद्घाटन गर्‍यौँ,’ उनले भने ।

साथै बिरामीका लागि ‘स्मार्ट हेल्थ कार्ड’ ल्याउने योजना रहेको बताइएको छ । उक्त कार्ड ल्याएपछि जुनकुनै अस्पतालमा बिरामी गएर उपचार गराए पनि त्यसको विगत उपचार तथा रोगको बारेमा जानकारी हुने खालको बिरामी कार्ड ल्याउने योजना बनाइएको छ ।

विश्व स्वास्थ्य दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आयोजना गरेको ‘स्वास्थ्यमा सबैका लागि सर्वव्यापी पहुँच’का लागि ‘स्वास्थ्य प्रवर्द्धनमा मेरो वर्ष, मेरो अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । (रासस)