
-विराज रोस्यारा/ईमेज
कैलाली । केही वर्ष अघिसम्म बिरामीले भरिभराउ भइरहने कैलालीको गेटा आँखा अस्पतालमा पछिल्लो समय बिरामीको संख्या घट्न थालेको छ ।
भारतका सीमावर्ती क्षेत्रमा सुविधासम्पन्न अस्पताल खोलिएसँगै बिरामीको संख्या एकाएक घट्न थालेपछि अस्पतालका अगाडि नयाँ चुनौती देखिएको हो ।
२०३८ सालमा स्थापना भएको कैलालीको गेटा अस्पताल आँखाको उपचारका लागि सस्तो र गुणस्तरीय मानिन्छ ।
तर पछिल्लो भारतीय सीमावर्ती क्षेत्रमै सुविधासम्पन्न अस्पताल संचालन गरेसँगै बिरामीको संख्या कम हुँदै गइरहेको छ ।
पहिले दैनिक ५ सय भन्दा बढी भारतीय बिरामीको आगमन हुने अस्पतालमा अहिले त्यो संख्या घटेर ३ सयको हारहारीमा झरेको छ ।
अस्पतालले स्थापनाकालदेखि हालसम्म ३५ लाख मानिसलाई स्वास्थ्य सेवा प्रदान गरेको छ भने करिब ५ लाख मानिसको अप्रेसन गरेको छ ।
केही बर्षयता भारतीय सेवाग्राहीहरुको संख्या घट्दो क्रममा रहेको गेटा आँखा अस्पतालका प्रशासकीय अधिकृत गोविन्द प्रसाद जोशी बताउँछन् ।
भारतबाट आउने बिरामीबाट उठेको शुल्कबाट सुदुरपश्चिमका पहाडि जिल्लाहरुमा निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको अस्पताललाई आगामी दिनमा समस्या हुने देखिएको छ ।
अस्पताललाई आर्थिक रुपमा सबल बनाउन अन्य वैकल्पिक उपाय खोज्नुपर्ने नेपाल नेत्र संघका केन्द्रीय उपाध्यक्ष चक्र बहादुर सिंहको सुझाव छ ।
भारतका विभिन्न अस्पतालमा भन्दा यस अस्पतालमा गुणस्तरिय सेवा पाइने भन्दै आउँने विरामीको संख्यामा कमी आएपनि पूर्ण रुपमा रोकिएको भने छैन ।
अन्य धेरै रोगको उपचार नेपालमा सम्भव नभए पनि आँखासम्बन्धी रोगको राम्रो उपचार हुने भएकाले आफूहरु आउने गरेको कतिपय भारतीय बिरामी बताउँछन् ।
सुदूपश्चिम प्रदेशमा अन्य रोगको उपचारका लागि राम्रो प्रबन्ध नभए पनि आँखा सम्बन्धी धेरै समस्या गेटा आँखा अस्पतालमै समाधान भइरहेको छ ।
यस अस्पताललाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै बिरामीलाई आकर्षित गर्न सम्बन्धित सरोकारवालाले ध्यान दिन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्