२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


आइएसलाई सघाएको आरोप लागेका शाहद्वारा ११४ जनालाई नक्कली भिसा


0
Shares

काठमाडौं, असोज १० । इस्लामिक स्टेट (आइएस) का सदस्यलाई फर्जी कागजपत्र बनाएर सघाएको आरोपमा मलेसियाबाट डिपोर्ट गरिएका नेपाली महेन्द्रजंग शाहले १ सय १४ विदेशीलाई नक्कली भिसा लगाइदिएको देखिएको छ ।

१४ वर्षदेखि मलेसियामा होटल व्यवसायमा संलग्न रहेका शाहले नक्कली भिसा लगाएर ठगी गरेको भन्दै परेको उजुरीको अनुसन्धानमा उनले १ सय ५० जनालाई मलेसियाको नक्कली भिसा लगाएको र तीमध्ये १ सय १४ विदेशी नागरिक रहेको खुलेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतले जानकारी दिएका छन् ।

‘नक्कली भिसा लगाएर ११ हजारदेखि १५ हजार रिंगेटसम्म लिएको देखिएपछि अनुसन्धान गरेका थियौं,’ बस्नेतले भने, ‘त्यसैका आधारमा दूतावासले ७ महिनाअघि मलेसियन सरकारलाई जानकारी गराएको थियो ।’

बस्नेतका अनुसार उनीविरुद्ध ३६ नेपालीले आफू ठगिएको भन्दै दूतावासमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानमा शाहले नेपालीलाई मात्रै नभई अन्य विदेशी नागरिकलाई समेत नक्कली भिसा लगाइदिएर मलेसिया ल्याएको खुलेपछि मलेसियाको आतंकवादसम्बन्धी अनुसन्धान गर्ने ‘एन्टी टेररिस्ट युनिट’ ले अगस्ट १७ मा पक्राउ गरेको राजदूत बस्नेतले जानकारी दिए । –कान्तिपुर दैनिकबाट