२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


फाइल हराएको मान्छे


0
Shares

पेशल आचार्य – यो केही वर्ष अघिको कुरा हो । चर्चित कलाकार हरिवंश आचार्यले ‘चिना हराएको मान्छे’ पुस्तक लेखे । रातारात सेलिब्रेटी लेखक भए । पत्नी शोकमा डुबेका हरिवंशले नेपाली पाठकलाई राम्रैगरी पठन सामग्री दिए ।  उनको जीवन खुला पुस्तकमा पढ्न पाएर धेरैले साहित्यको आनन्द लिए । अहिले अख्तियारका मोनिटर लोकमान एकाएक ‘फाइल हराएको मान्छे’ भएर समाचारमा चर्चित भएका छन् । आखिर जसरी भए पनि चर्चित हुनुसम्म त हो । सुचर्चित या कुचर्चित ।

अखबार भन्दा अहिले अनलाइन पढिन्छ । संसारभर एक क्लिकमा हजारौं पाठक बन्छन् । तुरुन्त कमेन्ट र सेयर हुन्छ । लेखक र पाठकबीच दोहोरो संवाद कायम हुन्छ । आफ्ना गल्तीबारे शीघ्र सच्चिने मौका पाइन्छ । रातारात सेलिबेट्री होइने अवसर मिल्ने हुँदा रहरले होस् या बाध्यताले सबै अनलाइनकै आगो ताप्न खोज्छन् ।

अख्तियार आफ्नो हाकिमको मुद्दाको ध्यान अन्तैतिर मोड्न ‘लडाकु शिविरको भ्रष्टाचारको फाइल’ टक्टक्याउँन लाग्दै छ । अदालत लोकले चाहेको लोकमानको मुद्दा पुनरावलोकनमा जुटेको छ । नेपाली पुराकथामा भनिएको थियो –‘सानी नानीले जेठाजुलाई देख्दा टाउको छोप्न घाँघरले ढाक्दा तलको लाज…….देखिएथ्यो ।’ नादानीले झन् ठूलो सङ्कट निम्तन्छ । गोठालो जाँदा ‘कालुले बाघ आयो बाघ आयो’ भनेर जिस्क्याउँदा तेस्रोचोटी साँच्चै बाघ आउँदा गाउँलेले सामान्य जिस्क्याएको ठानी मद्दत नगर्दा उसकै ज्यान गयो । यस पटकको बाघ टंगालतिर आउँदो छ क्यार !

सरकार भन्छ –‘भूकम्पका कारणले लोकमान नियुक्तिको फाइल हरायो ।’ सरकारको भन्ने काम हो भनिरहन्छ । गरिब देशको सरकारमा लाज नामको कुनै जिनिश हुँदैन । ‘इम्पेरियर न्यू क्लोथ’ त्यसै लेखिएको र महा लोकप्रिय भएको होइन । लोकमान छन् र देश छ । लोकमान नहुँदा हुन् त देश पनि हुने थिएन सायद् । लोकमानका धेरै थोक हराएका छन् । २०५१ देखि २०५९ सम्म  त्रिभुवन विमानस्थलको प्रमुख हुँदा उनलाई लागेको भ्रष्टाचारको मुद्दा स्वयम् अख्तियारले नै लडेको थियो । पछि सो हरायो ।  
    नेपालबाट समयान्तरमा धेरै कुरा हराएका छन् । गरिबका लागि लोकतन्त्रको नम्र्स हराएको छ । जारी भएको संविधानको कार्यान्वयन हराएको छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको चुनावी खाका हराएको छ । जबजब ओठमा ‘राजनीति’ को लाली दलिएका बुख्याँचाहरू राजनीतिक रण मैदानमा उफ्रिपाफ्री गर्छन् त्यसपछि सुशासन हराउँछ –शासनबाट । नैतिकता हराउँछ –शिक्षाबाट । उपचार हराउँछ –स्वास्थ्यबाट । सेवाभाव हराउँछ –धर्मबाट ।

सीमाविद् बुद्धि नारायणहरू भन्छन् –‘सीमाबाट जङ्गेबुद्धे हराए ।’ महिला अधिकारकर्मी चिच्याउँछन् –‘गाउँ घरबाट चेली हराएका छन् ।’ हुँदाहुँदा एमाले पदाधिकारीहरू समेतको सम्पत्ति विवरण हरायो –पार्टी कार्यालयबाट । एमाओवादी र काँग्रेसको केही हराएन किनकि तिनीहरूले पार्टी पदाधिकारीहरूको सम्पत्ति नै जाँचबुझ गर्ने लन्ठा गरेकै छैनन् । फेरि अहिले ती दुवै पार्टी घाँटी जोडेर सत्ताको तर मारिरहेका छन् । कस्ले कति कमाउने हुन् अत्तोपत्तो छैन । त्यसैले हराउने कुनै कुरै भएन ।  
    लोक कल्याणका लागि सिष्टमको खोजी हो –लोकतन्त्र । मुठ्ठीभर फाइदाका लागि अधिकारका ठेलीमा टिपेक्स दलेर ठालुहरूले लोकतन्त्रको परिभाषालाई समेत किर्ते गरी अनुकूल मीमांशा गरेका छन् । षडयन्त्रले सिष्टमको नदी धमिल्याएपछि कमाउने धन्दाको उद्योग शुरू हुन्छ । अभिनय फरकफरक गरेर अरबौंखरबौं कमाउनकै लागि कोही माक्र्सको दारी छाँटिरहेका छन् । कोही बीपीका जुँगा सफाचट गरिरहेका छन् । महेन्द्रका शिष्यहरूको रोइलो छ –यतिखेर देशैभरि ।

एकथरी भन्छन् –‘लेनिनका चेलाहरूले बीपीका चेलाहरूलाई राष्ट्रियता पढाउन सक्दैनन् ।’ अर्काथरी भन्छन् –‘फाष्ट ट्रयाकमा तदर्थवाद र अनर्थवाद हावी हुँदा जनताले सुविधा पाएनन् ।’ को ठिक को बेठिक जनताले राम्रै मूल्याङ्कन गरेका छन् । न्यायको त्यो परिणाम कुनै दिन मतपत्र हातमा परेका बेला उजागर हुनेछन् । माओका मतियारहरू धर्मको सिँग भाँच्न सफल भए । हुँदाहुँदा भाषाको खुट्टा काट्न सफल भए । संस्कृतिको लगौंटी फुकाल्न पनि कामयाव भए । युरो र डलरका तामझामले देश निन्याउरो भएका बेला जब आफ्ना भनिनेहरू नै आफन्त रहेनछन् अनि परायाले खेल्ने अवसर त पाउँछ नै । गरिबका मसिहा हौं भन्नेहरू नै गरिबका तालु ठोक्ने भए । काखी बजाउने भए । यस्तै बेलामा हो –लोकलाई आँखामा पिसाब छर्केर लोकमानहरू अर्ना बन्ने ।
    ‘लाटी’ ले चलाएको जाँतोजस्तो भएको छ –हाम्रो देशको समावेशी शासन । लगौंटी खोलेर चोकमा लघुशंका गरेझैँ भएको छ –हाम्रो देशको प्रशासन । जता हेरै पनि भ्वाँङ्ैभ्वाँङ् भएको घरजस्तो छ –हाम्रो देशको दारुण अनुहार । सार्वजनिक यातायात सिण्डीकेटको सुके लुतो र तिघ्रे सुनामीले दसैँका मुखमा यात्रुले अनन्त कहर पाएका छन् । अहिले नेपालका दूर दराजका गाउँमा धूलेहिले बाटाहरू छन् – गाडीका रूट पर्मिट छैनन् । यात्रुहरू कन्त बिजोगमा छन् –मोटरहरू छैनन् । फेरि देश तुइन युगमा सगौरव फर्केको छ । सलाम प्रागऐतिहासिक युगको जीवन पद्दतिलाई ।  
    ६ हजार सानाठूला नदनदी छन् –बिजुली छैनन् । कसिला हातपाखुरा भएका युवाहरू छन् –देशमा काम छैन । राजनीति छ –कार्यनीति छैन । दर्शन छ –दाउन छैन । व्रतपूजाका निष्ठामय कार्य छन् – शास्त्र बुझेको बाहुन छैन । स्कुल छन् –विद्यार्थी छैनन् । ग्राहक छन् –सामान छैनन् । मुभी छन् –दर्शक छैनन् । तामझामका साथ संविधानको वर्षगाँठ मनाउन लाग्दैछ सरकार –कार्यान्वयन छैन । प्रदेश विभाजन छन् – तराईको मन मिलेको छैन ।

देशमा नसोचेको परिवर्तन आयो –सिष्टम आएन । सुमार्गमा हिँड्ने सुमार्गीहरू छैनन् । रानारुनी खोज्दा डा. गोविन्द केसी र महावीर पुनहरू छन् –सरकारी सुनुवाइ छैन । सरकारको हात छ –कान छैन । गोडा छ –आँखा छैन । टाउको छ –बुद्धि भएको विवेक छैन । मेरो देशमा घुम्ने मेचमाथि अन्धा मानिसको शासन शताब्दिऔंदेखि चल्या छ । आजित जनताको नौनाडी गल्या छ ।

केही हप्ताअघि एमाले नेता शङ्कर पोखरेलले टुइटरमा टुइट् गरे –‘मधेशी काला वर्णका भएरै असोज ३ लाई कालो दिवस मनाउन लागेका ।’  पत्रकार धर्मेन्द्र झाले प्रतिउत्तर टुइट्मा बेजोड दनक दिँदै फर्काए –‘जति तपाईंलाई गोरो भएकोमा दम्भ छ । त्यति मलाई कालो भएकोमा हिनताबोध छैन ।’ बजार तात्यो । खगेन्द्र संग्रौलाले लेखै लेखे । सूर्य थापाहरूले प्रतिरक्षा गरे । पछि पोखरेल आफ्नो टुइट् मेट्न बाध्य भए । अदना जनताले बुझ्यो –एमाले मधेशप्रति सकारात्मक छैन । उसको रवैया चुनाव कै लागि घातक हुन सक्छ ।

एउटै भूकम्पका अनेक प्रकम्पहरूले देशबाट फाइल हराएको छ । इमानजमान र न्याय हराएको छ । लिकबाट देश हिँडेको छैन । पटरी नै ढलपल गर्दैछ । जापान र चीनले भए हाम्रा आएजस्ता भूकम्पलाई अवसर र देश निर्माणका लागि अनेक प्रयोग गर्थे । यहाँ गाली र लालीमै नेपालीहरू अल्मलिँयौं । अझै पुनःस्थापनाको मूलबाटो तय भएको छैन । धुर्मुस र सुन्तली गिरान्चोकमा घर बनाउँदैछन् जनताका लागि । नेताले नजाने कति आफ्ना घरका तला थपे हूनन् । प्रकारान्तरले सार्वजनिक हुँदै जालान् ।

लोकमान लोकतन्त्रका ऐँजेरु हुन् । अहिले त फाइल मात्र हराएको छ । हेर्दै जानु छ –देशबाट आउँदा एकदुई दसकमा केके हराउँदै जानेछन् । केके फेला पर्दै जानेछन् । हराउनुका तमाम ‘क्याराभान’ भित्र देशै कतै नहराओस् । देश नामको खलो बाँकी रह्यो भने जसरी पनि शासनका दाइँ गर्ने सुविधा सुकिलामुकिलाहरूलाई अकण्टक बपौतीमा प्राप्त हुनेछन् । अझै केके हराउँछन् –आगे समयलाई जिम्मा ।