पोखरा, चैत २३ । आरक्षण विभेद अन्त्य र मुलुकलाई हिन्दूराष्ट्र कायम नगरिए कडा आन्दोलन गर्ने क्षत्री समाज नेपालले चेतावनी दिएको छ ।
‘राष्ट्रिय अखन्डता, जातीय सद्भावका निम्ति क्षत्री एकता : आजको आवश्यकता’ भन्ने नाराका साथ शनिबारदेखि पोखरामा सुरु भएको क्षत्री समाज नेपालको तेस्रो महाधिवेशन उद्घाटन समारोहमा बोल्ने वक्ताले जातीय आधारमा नभइ गरिबीका आधारमा आरक्षण दिइनुपर्नेमा जोड दिएका हुन् ।
देशमा सबैभन्दा धेरै जनसंख्या रहेको क्षत्री जातिलाई विभेद गरिएको समाजको गुनासो छ ।
राप्रपा, नेपाली कांग्रेसलगायत राजनीतिक पार्टीका नेताहरुले देशमा धर्मनिरपेक्षता लागू गर्नेबारे जनमतसंग्रह गर्नुपर्ने आवाज उठाइरहेका बेला क्षत्री समाज नेपालले पनि सो मुद्दा अघि सारेको हो ।
कार्यक्रममा पूर्वमन्त्री देवेन्द्रराज कँडेल, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, गन्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा, पुष्पा केसी भण्डारी, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलगायतले क्षत्री जातिले राज्यको हितका लागि गरेको योगदानको चर्चा गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्