Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


असन्तुष्ट जिल्ला सभापतिलाई देउवाको जवाफ– विशेष अधिवेशनको सामना गर्छु


0
Shares

                                              फाइल तस्वीर

विराटनगर, चैत २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले सानो संख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे ।

सभापति देउवाले स्व गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरु पार्टीबाट निष्काशन हुन्थे भन्दै तर आफूले केही नगर्ने र अनुशासन समितिले यससम्बन्धी हेर्ने बताए ।

उनले न्यायपरिषद्ले योग्यता पुगेकालाई नै सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हुनाले  टीका टिप्पणी नगर्ने प्रष्ट पारे । उनले न्यायपरिषद्ले न्यायाधीश नियुक्त गर्दा राजनीतिभन्दा बाहिर हुनुपर्छ भन्दै नियुक्तका सम्बन्धमा कहीँ कतै कुनै विरोध नभएको उल्लेख गरे ।

उनले संवैधानिक परिषद्ले नियुक्त गर्दा प्रतिपक्ष दलको हैसियतले आफ्नो पनि सहमति लिनुपर्ने बताउँदै प्रतिपक्षबिनाको एक्लै नियुक्त गर्न पाइँदैन भने ।

उनले संवैधानिक परिषद्को बैठकमा आफूले चिठ्ठी लेखी आउन नसक्ने भएको हुँदा केही समयपछि गर्नु भनेकोमा एक पक्षीय ढङ्गबाट गरिएको नियुक्तिको विरोध गरेको बताए ।

सभापति देउवाले वर्तमान सरकारले दुई तिहाइको दम्भमा एकलौटी कार्य गरेको आरोप लगाउँदै यसको विरोधमा विपक्षी पार्टीको हैसियतले सदन र सडकमा विरोध गर्ने बताए ।

वर्तमान समयमा कांग्रेस एकजुट रहेको बताउँदै उनले आगामी महाधिवेशनबाट पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गरे । (रासस)