-शंकर खनाल र लक्ष्मण डंगोल(ईमेज)
काठमाडौं । टुटफूट र गुटउपगुट अन्त्य गर्ने नेपाली कांग्रेसको प्रतिबद्धता ओठेभक्तिमै सिमित हुने देखिएको छ ।
काँग्रेसलाई एकढीक्का बनाएर लैजान्छौ भनेर कार्यकर्तालाई आश्वासन दिने शीर्ष तहबाटै गुटउपगुटको चलखेल हुने गरेको छ । पार्टी भित्रका असन्तुष्ट जिल्ला सभापतिहरुको भेलाले त्यहि प्रमाणित गरेको छ ।
असन्तुष्ट जिल्ला सभापतिहरुको भेलाको बिषयलाई लिएर नेपाली काँग्रेभित्र टकराव बढेको छ । जिल्ला सभापतिहरु संस्थापन पक्ष र इतर पक्षमा विभक्त भएका छन् ।
मुख्यत पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिहरु आ-आफ्नो पक्षमा पार्ने लविङ्मा छन् ।
पार्टी सभापति देउवाले त पार्टीको आधिकारीक भेला नभएकाले सहभागी नहुन सबै जिल्ला सभापतिहरुलाई निर्देशन दिएका छन् ।
संस्थापन इतरका असन्तुष्ट पार्टी सभापतिहरुले भने स्वतः प्रतिनिधि र आरक्षणको सुविधाबारे केन्द्रीय समितिले गरेको निर्णय पुनर्विचार गर्न दबाव दिने भन्दै भेला डाकेका छन् ।
पौडेल पक्षीय नेता नविन्द्रराज जोशीले भेला औचित्यपूर्ण भएको भन्दै यसले पार्टीलाई थप गतिशिल बनाउने दाबी गरे ।
उनले भेला गुट र उपगुटको नभई सबै जिल्ला सभापतिहरुको साझा भएकाले अन्यथा लिनु पर्ने आवश्यकता नरहेको बताए ।
यता देउवा निकट नेता एनपी साउदले भने केन्द्रीय समितिले निर्णय लिएको बिषयलाई जिल्ला सभापतिहरुको भेला डाँकेर पार्टीभित्र बिवाद खडा गर्न खोजेको भन्दै अवैधानिक भेलाको औचित्य नभएको जिकीर गरे ।
उनले पौडेल पक्षीय नेताहरुले भेला बोलाएर पार्टीलाई कमजोर बनाउने रणनीति लिएको आरोप लगाए ।
पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने पार्टी सभापति देउवाको अभियानमा पौडेलपक्षीय नेता गुट उपगुटमा बिभाजित भएको उनको भनाई छ ।
गुट उपगुटमा विभाजित हुँदा काँग्रेसभित्र अझै पनि लोकतान्त्रिक पद्धति संस्थागत हुन सकेको छैन ।
पार्टीभित्रकै विवादमा रुमल्लिरहँदा राष्ट्रिय राजनीतिमा काँग्रेसको आवाज पनि कमजोर सुनिन थालेको छ ।









प्रतिक्रिया दिनुहोस्