Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सूचना प्रविधिका स्टलमा ग्राहकको आकर्षण बढ्दो


0
Shares

रुपन्देही, कात्तिक ७ । बुटवलमा सञ्चालित राष्ट्रिय उद्योग प्रदर्शनी तथा तिहार महोत्वमा सूचना प्रविधि सम्बन्धी स्टलमा ग्राहकको चाप बढेको छ ।

मेलामा राखिएका मोबाइल, ल्यापटप, कम्पुटर खरिद र तिनका पार्टपुर्जामा ग्राहकले निकै रुचि देखाएका हुन् ।

बुटवलस्थित नेपाल उद्योग व्यापार सङ्गठन र काठमाडौंस्थित नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको आयोजनामा बिहीबारदेखि सुरु भएको सो महोत्सवमा अपेक्षा गरिएको भन्दा दर्शकको सङ्ख्या बढेको छ । जसमा सूचना प्रविधिका स्टलमा ग्राहकले निकै चासो दिएको आयोजकको भनाइ छ ।

मेलामा दर्शकको वृद्धिसँगै सूचना प्रविधिका स्टलमा कारोबार बढ्ने अपेक्षा गरिएको उल्लेख गर्दै नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका कोषाध्यक्ष कृष्ण अर्यालले सूचना प्रविधिमा धेरैले चासो दिएको बताए ।

महोत्वसमा ४२२ स्टलमध्ये सूचना प्रविधिका ५८ वटा स्टल छन् ।

सोलारदेखि नेट प्रोभाइटरसम्मका स्टल रहेको मेलाका सूचना प्रविधि उपसमितिका संयोजक मनोज गुप्ताले उल्लेख गरे ।

‘मेलामा मोबाइलको कारोबार राम्रो छ । अन्य सामानको पनि प्रचार तथा विक्री भएको छ,’ उनले भने, ‘यस्तो बेला विक्रीभन्दा पनि प्रवर्द्धनलाई कम्पनीले लक्ष्य बनाएको देखिन्छ ।’

यही कात्तिक १५ गतेसम्म चल्ने महोत्सवमा उद्योग, कृषि, पर्यटन प्रवर्द्धनलगायतका कार्यक्रमसहित उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराइने सङ्गठनका अध्यक्ष तथा मूलआयोजक समितिका संयोजक खेम श्रीसले बताए । (रासस)