
जुम्ला, असार २४ । नौ दिनदेखि जुल्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्किंदै गएको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै १५ औँ पटकको अनशन सुरु गरेका डा. केसीको ब्लड प्रेसर कम हुँदै गएको र रोगसँग लड्न सक्ने क्षमता कम भएको उनको उपचारमा संलग्न चिकित्सक डा. प्रविन गिरीले जानकारी दिए ।
यस्तै डा. केसीको शरीरमा सुगरको मात्रा कम हुँदै गएको छ भने इन्फेक्सनबाट बचाउन समस्या भएको भन्दै डा. गिरीले थप समस्या देखा पर्न थाल्यो भने उपकरण नहुँदा समस्या हुने बताए ।
५ दिनसम्म कवर्ड हलमा अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकहरुको पहलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा लगिएको थियो । डा. केसीको माग सम्बोधन गर्न सरकारले अहिलेसम्म पनि पहल गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्