
हरिविनोद अधिकारी – ‘ हे भगवान, आगो त नजिक नजिक आयो । हुन त के भयो र ? एकदिन जानु नै छ र त्यो दिन आजै होस् बरु । दिदी र जेठाजु बेखबर हुनुहुन्छ त्यो डँढेलोप्रति । हुन त उहाँहरुको दिव्य दृष्टिले देख्नु भएको होला तर अहिले निश्चिन्त देखिनु भएको छ । विदुर पनि कता गएका होलान् र बहिनी पनि देखिन्नन् । म धेरै कति कराउँ होला । अँ हिजोका दिन बरु सम्झन थाल्यो भने मृत्यु पनि सहज हुनेछ । मेरो त नियतिले जेजे देखायो , त्यसैमा डोरिँदै जीवनको यो सन्ध्यामा क्रियाविहीन अवस्थामा खुसी छु ।’
जब म सम्झन्छु हिजोका ती दिनहरु । जीवन भनेको नै भोगेका कुराहरुको पुञ्ज रहेछ । जे भोगिन्छ, त्यो त मस्तिष्कमा छाप पारेर बस्दो रहेछ । कति कुरा त बिर्सिँदो पनि रहेछ । जे बिर्सनु पर्ने हो, त्योचाहिँ पटक्कै नबिर्सिइने, अनि जुन सम्झनु पर्ने जरुरी छ त्यसलाई चाहिँ बारम्बार सम्झिनका लागि आफैँले आफैँलाई भनिरहनु पर्ने । यो कस्तो मानवीय कमजोरी भनौँ कि विशेषता रहेछ ।
एउटा सम्झना छोरा बुहारी वनबासको बेलाको । त्यसबेलामा……………..
कति रुनु ? कति रुनु ? आँखामा आँसु नै रित्तिए । केही खबर पनि छैन । कसलाई सोध्नु र ? म त शत्रुपक्षकी माता न ठहरिएँ । कोही केही कुरा गरिरहेका रहेछन् भने पनि मलाई देख्ने बित्तिकै चुपचाप लाग्छन् । मानौँ कि मैले थाहा पाएर तत्काल पाण्डवहरुलाई केही भन्दिन्छु भने जस्तै गरी । कृ भएको होला । तर कसैलाई पनि केही भएको छैन होला किनभने मैले त्यस्तो कुनै सपना पनि देखेकी छैन र दिदीेले पनि त्यस्तो कुनै सपना देख्नु भएको छैन । तर अरुका अघिल्तिर त म पूर्व महारानीका रुपमा , अझ भनौँ महारानी जत्तिकै छु तर पनि यो देखावटी जीवनभन्दा बरु जंगलमा नै तिनीहरु सबैसँग बस्दाको जीवन पक्कै नै सन्तोषप्रद हुने थियो । तर नियतिले यस्तै लेखेको रहेछ । जिन्दगीभर औपचारिकतामा नै बाँचिने भइयो जस्तो छ । अरुले हेर्दा महारानी, दरबारको बसाई, सन्तान वनमा छन् र आफू खुसीसँग यहाँ बसेको जस्तो छ । दृष्टिविहीन जेठाजु र जेठानी दिदीको सेवामा बस्ने मेरो निर्णयलाई जेठाले त त्यति मन पराएको थिएन तर के गर्नु ? यो पनि मेरो लागि एउटा औपचारिकता नै भयो ।
पहिले पहिले लाग्थ्यो गान्धारी दिदी नाटक गर्न सिपालु हुुनुहुन्छ तर वास्तविकता अर्कै पो पाएँ । वास्तवमा उहाँको हृदयमा न्याय भित्र छ तर बाहिर त आफ्ना सन्तानका माया हुने नै भयो । तर मैले शकुनी दाइको पो कुरा बुझ्न सकेकी छैन । दिदीचाहिँ कता कता मेरा छोराहरुको पक्षमा उभिए जस्तो तर हेर्दा आफ्नै छोराहरुको पक्षमा लागे जस्तो । अहिलेसम्म उहाँले चाहिँ मेरा छोरा र आफ्ना छोराहरुका कुरा गर्दा आफ्ने छोराहरुलाई गाली गर्नुहुन्छ र आजको यो अवस्था ल्याउन दुर्योधन , शकुनी र कर्णकै कारण हो भन्नेमा उहाँको विश्वास छ । तर आमा न हो, जसरी मलाई पाण्डवको पक्षमा मात्र बोल्न मन लाग्छ तर केही बोल्दिन। दिदी त महाराजसँग बाझ्नु हुन्छ र भन्नुहुन्छ – सबै महाराजको कमजोरीले हाम्रा सन्ततिहरुमा बेमेल बढेर यो अवस्था आएको हो , र यस्तो विग्रह देखिएको हो । कौरबहरुको यो दुर्गतिमा स्वयम् महाराजको दायित्व बढी छ । सबै त कुरु वंश नै त हुन् । यदि देवर बाँचिरहनु भएको भए यो दुर्गति पक्कै हुँदैनथ्यो होला । दिदीलाई सायद यो कुराले पनि पोलेको छ कि दाइले आफ्ने राज्यको पटक्कै वास्ता नगरेर किन यो हस्तिनापुरको जिम्मा लिनु भएको होला ? आफ्नो त्यत्रो राज्य छ , वास्ता छैन । पिताजीको त्यस्तो नाम छ , वास्ता छैन । किन हो कुन्नि मेरालागि बसेको जस्तो गरी कुरुवंशीहरुको विवादमा पर्नुहुन्छ , पर्नुहुन्छ मात्रै होइन कि स्वयम् नायक बनेर कुरुवंशको नाश गर्न लाग्नु भएको छ । कुरुवंश समाप्त हुँदा मेरा सन्तान पनि त समाप्त हुनेछन् , होइन र ? भन्ने सम्झेर एक्लै डाँको छोडेर रुनु हुन्छ कोही नभएको बेलामा । मलाई सकेसम्म भन्नु हुन्न तर दासीहरुले मलाई बिस्तारै भन्ने गर्छन् । म त सोध्ने होइन । तर दरबार नै यस्तो ठाउँ हो नभन्ने है भन्दै सबैकुरा भनिन्छ र सबैतिर हल्ला फैलिन्छ । त्यसैले त दरबारमा भएका साना साना कुराहरु पनि जनताका घरघरमा पुगेको हुन्छ हल्ला बनेर । राजाका कुरा, रानीका कुरा, राजकुमारहरुका कुरा, राजाको कोसँग कस्तो सम्बन्घ छ भन्ने कुरा । राजा अचेल कुन रानीसँग रिसाउनु भएको छ वा कुन रानीको खोपीमा कति रातसम्म बस्नुहुन्छ भन्नेसम्मका कुरा ।
झन महाराज त नदेख्ने भए पनि एक्लै सबैको कोठा कोठामा पुग्न सक्नुहुन्छ र कुशल क्षेम सोध्न भ्याउनु हुन्छ । भन्छन् मान्छेहरु , गान्धारबाट रमणीहरु झिकाएर महाराजलाई रमण गराउनु हुन्छ र त शकुनी दाइका कुरालाई बढी नै पक्ष लिनुहुन्छ । एकान्तमा कुरा के गर्नुहुन्छ , तर एकैछिनमा मैनबत्ती जलेजस्तै गरी गल्नु हुन्छ । शकुनी दाइको वारेमा चाहिँ न्याय र अन्यायको कुनै छानबिन नगर्ने कस्तो बदमास मान्छे भन्ने लाग्थ्यो तर मुखले केही पनि भनिन । म त एकप्रकारले विश्व सुन्दरी जस्ती मान्छे हुँ , त्यो त मलाई थाहा थियो पनि , छ पनि । मलाई नै बढी मन पराएको जस्तो पनि लाग्थ्यो । यो दरबारको कुरा हो र हामी एक प्रकारले कुटुम्ब नै त भयौँ ।
शकुनी दाइको व्यवहार जहिले पनि एउटा कुनै मिहिन उद्देश्यको लागि लागिरहेको जस्तो । कतै कुनै घाउको ओखती गरेको तर अरुलाई त्यो घाउको वारमो जानकारी नगराइएको जस्तो । के गरेको भन्दा के गर्दै भन्ने प्रश्न बारम्बार मनमा उठ्ने । कहिले त्यस्तो होइन रहेछ कि जस्तो लाग्ने , कहिले भने के जस्तो के जस्तो लाग्ने । जे हुन पनि सक्थ्यो । दरबार भनेको अत्यन्त औपचारिक ठाउँ हो तर अत्यन्तै फोहोरी ठाउँ पनि । गन्ध बाहिर आउनै नसक्ने तर दुर्गन्ध नै दुर्गन्ध जताततै भए पनि । एउटा सम्मोह र विमोहको वरिपरि नै जीवनलाई धान्नु पर्ने । एउटा यथार्थ छ तर अर्कै भनेर बस्नु पर्ने र जीवनलाई नयाँ उर्जा प्राप्त भइरहेको जस्तो देखाउनै पर्ने । रुँदा पनि हाँस्नु पर्ने र हाँसो उठ्दा पनि रोएको नाटक गर्नै पर्ने ।
म अन्तरमुखी मान्छे भएकीले सबै कुरा हेर्छु, सुन्छु तर प्रतिक्रिया जनाउँदिन । यसका लागि दिदी बारम्बार मलाई पाषाण हृदय भएकी मान्छे भनेर गाली गर्नुहुन्छ । पहिले म कस्ती स्पष्टवक्ता थिएँ भने कसैलाई पनि केही पनि भन्न बाँकी नराख्ने । त्यस्तो कुन बेला हुँदो रहेछ भने यदि आफूमा कुनै कमजोरी छैन भने । सजिलो हुँदोरहेछ स्पष्ट बोल्न । राजकुमारी , युवराज जस्तै । सबैकी मन परेकी । मन परे पनि नपरे पनि कसैले केही भन्न पनि नसक्ने र कसैले केही भने पनि कुनै वास्ता पनि लहुने । एउटा मादकता र एउटा अकर्मण्यताको वेणी । कसैलाई पनि केही दिन वा भन्न कुनै रोकटोक थिएन । मसँग सबै डराउँथे । एकप्रकारले म नै राजा हुँ जस्तो लाग्थ्यो । राजप्रासादको उत्तराधिकारी जस्तो । मेरा कुरा कसले काट्ने । सबै मेरा नजिक हुन चाहने । म पृथा । अरु भन्दा पृथक । पृथ्वी जस्तो सहनशीला । सुशीला । तर कुन्ती भएपछिको रबाफ नै भिन्नै ।
पृथा र कुन्तीमा के फरक थियो ? अहिले सम्झन चाहन्छु किन फरक देखिन्थ्यो ? के फरक नै थियो ? वास्तवमा फरक त थियो शान र रबाफमा पनि । धेरै केटाकेटीका बिचमा एउटा अरु जस्तै राजकुमारी र एउटी अप्रतिस्पर्धी सुन्दरी किशोरी युवराज्ञी जस्तैको कुनै तुलना हुनै सक्दैनथ्यो , भएन पनि ।
अहिले एउटा गुमनाम जीवनमा पनि ममा फुर्ती किन छ होला ? सबैले भन्छन् तिमीले पाण्डवहरुलाई छोडेर हिँड्नु हुँदैनथ्यो । हुँदैनथ्यो पनि । तर मैले कर्तव्यलाई सधैँ पहिलो प्राथमिकता दिएकी हुँदा अहिले पनि जेठाजु, जेठानी, देवर र देवरानीलाई छोड्न सकिन । कसरी छोडौँ त ? वैभव कहिले आउँछ , कहिले जान्छ असिना जस्तै । छ पनि छैन पनि । थियो पनि थिएन पनि । एकछिनमा वरर्रर्र बर्सिन्छ र एकछिनमा फेरि बर्सेको थियो र भने जस्तै बिलाउँछ ।
म हस्तिनापुरमा नै रहँदा पनि मेरो मनले एउटा अठोट गरेको थियो म कहिले पनि जेठाजुलाई छोड्दिन । मेरो विवाहपश्चात् नै एउटा सीमा कोरिएको थियो परिवारमा । मेरो माइतीको हैसियतका कारणले । मेरो पतिको हिम्मत र हैसियतका कारणले । पालो मिचेर राजा बनाइएका मेरा पति पाण्डुप्रति जेठाजु धृतराष्ट्रको गुनासो थियो तर एकदम मौन विद्रोहको रुपमा ।
जेठाजु दृष्टिविहीन भएकाले सत्तारोहण भनौँ कि गद्दी आरोहण भनौँ , त्यसबाट च्यूत गरिएको रहेछ । सायद यो सल्लाह र तत्कालीन कुरुवंशीहरुको परम्परा अनुसार गरिएको रे । पितामहको सल्लाह, बुढी सासु अझ भनौ सत्ताकी प्रमुख हकदार र निर्णयकर्त सत्यवतीको इच्छाबमोजिम त्यस्तो निर्णय भएको भन्ने मैले पनि कतै सुनेकी थिएँ । सल्लाह , परम्परालाई नै दरबारी नियमको स्वरुप दिइएको थियो क्या रे । आपसको समन्वयमा भएको जस्तो लाग्छ ।
नियम र कानुन अनि परम्पराप्रति तर जेठाजुलाई भने कतै चित्त बुझेको थिएन । सत्ता नै यस्तो गज्जबको मनोविज्ञान रहेछ कि सत्तामा नहुनेलाई सत्ता विरुद्ध उचाल्ने तर सत्ताको पक्षमा मात्र सधैँ कल्पना गरिरहने मानवीय स्वभाव । जेठाजुमा त्यो कुण्ठा सधैँ म देख्थेँ तर मेरो काम भनेको आफैँमा गुम्सिनु नै मात्र थियो । दिदीमा देखिने कुण्ठा अलि फरक थियो । दिदीमा पाइने कुण्ठा र जेठाजुमा पाइने कुण्ठाका एउटै सिक्काका दुई पाटा भए पनि एउटा नदीका दुई किनारा जस्ता अनुभूत गर्न सकिन्थ्यो । तर दिदीमा अनुभूत गरिने कुण्ठाचाहिँ शकुनी दाइमा प्रस्फुटित भइरहन्थ्यो । दिदीको कुण्ठा अब गोबरले लिपेको ठाउँ जस्तै भएको थियो , देखिँदैन थियो र खोज्नु पथ्र्यो तर दाइको व्यवहार हाक्काहाक्की कौरवका विरुद्ध थियो र बारम्बार मेरा अप्रतिशोधी छोराहरुलाई प्रतिशोधको आगोमा धकेल्न सक्षम हुनुहुन्थ्यो । मलाई कतिसम्म अचम्भ लाग्थ्योे भने कर्णलाई समेत उचालेर पाण्डवका विरुद्ध यसरी तयार गर्नुहुन्थ्यो कि पाण्डवका सम्पूर्ण व्यवहार दिदीका छोराहरु विरुद्ध केन्द्रित हुन्थे । कर्ण आफैँमा एउटा तुफान थियो तर त्यो तुफान जसरी हुन्छ कौरबका विरुद्ध प्रयोग गर्न शकुनी दाइ लागिरहनु हुन्थ्यो । तर झट्ट हेर्दा शकुनी दाइ र कर्ण पाण्डवका विरुद्ध जस्तै देखिन्थे । कुरो प्रक्रियाको हुँदो रहेनछ, परिणामले जे देखाउँछ त्यो पो मूल्याङ्कनमा आउँछ नि । कर्ण बुझ्थ्यो कि बुझ्दैन थ्यो तर लाग्थ्यो एउटा पूर्व निर्धारित सूत्रझैँ नियतिको गणितमा ती दुवै सहज तरिकाले प्रयुक्त भएको जस्तो लाग्थ्यो । कर्णको मनमा के थियो थाहा पाउन सकिँदैन भन्ने उसका बालसखाहरुको विचार थियो । हुन त उसका बालसखा पो को थिए होला र ?
मेरो मनमा के छ कसैले कहिल्यै सोधेन । मैले जीवनलाई सधैँ अनियमित चमत्कारले डो¥यायो । नियमित आकस्मिकता भन्दा पनि हुन्छ । मेरा पिताको वचन पूरा गर्न सानैमा कुन्तीभोज काकाकोमा गएँ र पृथाबाट पृथक हुँदै कुन्ती भएँ । पहिचान नै परिवर्तन हुँदा पनि म खुसी थिएँ किनभने ठूला राजाकी धर्मपुत्री हुँदा मेरो मान खातिर बढेको थियो । मेरा पिताजीले पनि मान्नुपर्ने कुन्तीभोज काकाको अवस्था थियो । म त एकप्रकारले युवराज्ञी जस्तै थिएँ । राजाको अधिकारलाई प्रयोग गर्न सक्ने गरी मलाई पुलपुल्याइएको थियो । तर दुर्वासाको आगमन र मेरो शुश्रूषा । मलाई पनि कति जाँगर चलेको नि । दुर्वासालाई रिसको भारी नै सम्झन्थे सबैले । हुन पनि रिस चर्को थियो रे ऋषिको । हुन पनि अलि अलि हो र चेलाहरु पनि , साठी साठी हजारको संख्यामा । तिनको सेवा र सेवाको अनुगमन आफैँमा जटिल र चुनौतीपूर्ण कार्य थियो जुन मेरो नेतृत्वमा सम्पन्न भयो भनौँ । गुरु रिसाएनन् तर पनि गुरुको के टुङ्गो, कतिबेर रिसाउने हुन् । हिमाली भेगको मौसम जस्तै । कतिबेर घाम लाग्ने हो , कतिबेर पानी पर्ने हो र कतिबेर हुस्सू लाग्ने हो ? अहिले घाम लागेजस्तो छ अनि तत्कालै रात परिहाल्ने । ठिक त्यस्तै थियो दुर्वासाको स्वभाव । खुसी पनि तत्कालै हुने अनि रिसाउने पनि कुने साइत नचाहिने ।ती ऋषि खुसी भएछन् र यो सबै सेवाको कसल सम्पादन गरेको भनेर सोधेछन् । गुरुलाई विश्वास नै भएनछ कि म जस्ती फुच्ची केटीले यो सबै व्यवस्थाको जिम्मा लिएको भनेर । नुहाउन पनि पानी तयार, खान पनि अल्पाहार तयार , खाना पनि बेलैमा तयार, शयनका लागि नरम तथा फराकिलो ओछ्यान तयार । यज्ञका लागि मण्डप तयार , आहूतिका लागि चरु तयार । उष्ण जलको प्याला तयार । चिसो पानीको कुम्भ तयार । जे पनि तयार छ , कुनै कुरामा पनि साठी हजार ऋषिले कुनै कमी महसुस गर्नु परेन क्यारे । मलाई खोज्दै ती दुर्वासा रिसका पुरी आउन लागेका देखे पछि मेरो त सातोपुत्लो उडेको पो थियो तर कुरा त आशीर्वाद दिनका लागि पो खोज्दै आउनु भएको रहेछ ।
मलाई देख्ने बित्तिकै मलाई अँगालोमा बाँधेर मेरो मस्तक सँुघ्नु भयो र आशीर्वादका लागि वर माग भन्नुभयो । साँच्चैमा मलाई केही नपुग्ने पनि थिएन र खासमा मलाई के माग्नु पर्छ भन्ने पनि थाहा थिएन । कुनै कुराको न त चाहना थियो , न त कुने कुरा नपुगेको कमी नै थाहा थियो । त्यो पनि आकस्मिक भयो र म हाँसुँ कि नाचुँ कि जस्तो बेलामा केही नभनी अलमल्ल परेर बसेको थिएँ । ऋषिलाई अबेर भएको थियो क्यारे, कता जानु थियो हतारमा हाम्रो दरबार छोडेर, एकैपटक एउटा मन्त्र कानैमा फुसफुसाउँदै भन्नुभयो —यो मन्त्र जप्नु, जुनसुकै देवता पनि तिमीनेर आउने छन् र तिम्रो मनेच्छा पूरा गर्नेछन् । वास्तवमा मलाई एउटी किशोरीको मनेच्छाको वारेमा थाहै थिएन भने पनि हुन्छ । साथी खासै थिएनन् कनिभने कुन्ती भोज काकाका छोरी नहुनाले नै म यहाँ पालिएकी , पुलपुल्याइएकी थिएँ । ममा पनि खासै कल्पना थिएन , अकस्मात वरदान माग्न भन्दा के के हो , थाहै थिएन । यो मेरो नियतिको गणित रहेछ । नियमित आकस्मिकतामा डोरिनु पर्ने कर्मको खेला । आज पो सम्झन्छु , एउटा सृङ्खलाबद्ध आकस्मिकताको सिलसिला । (क्रमशः)
प्रतिक्रिया दिनुहोस्