
वासिंगटन, कात्तिक २६ । निर्वाचन अभियानभरि आक्रामक शैलीमा प्रस्तुत् भएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विभिन्नरुपबाट अमेरिकाभर प्रदर्शन भैरहेका छन् ।
निर्वाचन अभियानका क्रममा आवेशमा आइ उनले मेक्सिकालीहरुलाई ‘अपराधी’, अफ्रिका तथा अन्य मुलुकबाट आएका आप्रवासीहरुलाई ‘बदमास र देशद्रोही’ भन्ने शब्दले आरोप लगाएपछि रुस्ट भएकाहरु र हिलारी क्लिन्टनको हारपश्चात् खिन्न भएका डेमोक्र्या्टिक समर्थकहरुसमेत मिलेर अमेरिकाका सबैजसो ठूला–साना सहरहरु सर्वत्र जुलुस, नाराबाजी गर्दै ट्रम्पविरोधी प्रदर्शनको शृंखलाबद्ध अभियान नै सुरु भएको छ ।
निर्वाचन परिणाम घोषणापश्चात् सुरु–सुरुमा देखिएको असन्तुष्टि र विरोध प्रदर्शनलाई राष्ट्रपति ट्रम्पले ‘निष्पक्ष र स्वतन्त्र निर्वाचनमा विजयी भएको राष्ट्रको विरोध गर्न भरौटे प्रदर्शनकारीहरुको भीड, सन्चारमाध्यमहरुले उक्साएर आएकाहरु, बदमासहरुको कुकृत्य’-भनी ट्वीटरमा लेखेका थिए ।
नवनिवार्चित राष्ट्रपतिको ट्वीटर सन्देशले अरुमा पनि उत्तेजना बढ्न मद्दत पुग्यो र प्रदर्शनकारीहरु थपिँदै गइ दुई/तीन दिनभित्रै देशभरि नै विरोधको शृंखला फैलिन गइ कतै–कतै हिंसात्मकसम्म पनि भएको जनाइएको छ ।
पोर्टल्यान्ड, ओरिगानः ट्रम्पविरोधी व्यापक प्रदर्शनले यहाँ उग्ररुप लिन लागेको छ । उनको ट्वीटर सन्देशप्रति प्रतिक्रिया जनाउनेक्रमले आगोमा घ्यू थप्ने काम गरेको छ ।
कतिपय अल्लारे ठिटाहरुको हात–हातमा क्रिकेट वा हकीका ब्याटसमेत हुनाले विरोध प्रदर्शन आपराधिक, विध्वंशात्मक र खतरनाक प्रवृत्तिमा परिणत हुने संकेत देखिएका कारण ओरिगान प्रहरीले यसलाई ‘दंगा’को दर्जा दिइ सोहीअनुरुप नियन्त्रणका कदम अपनाइने जनाएको छ ।
सिकागोः देशका अन्य भागमाजस्तै ट्रम्पविरोधी व्यापक प्रदर्शन यहाँ पनि सल्केको छ । सिकागोमा अवस्थित ‘ट्रम्प टावर’बाहिर हजारौंको जुलुसले नगरको प्रमुख व्यापारिक केन्द्र वरिपरी सडक आवागमन अवरुद्ध पार्दै पैदलयात्रा गरेका छन् ।
केही प्रदर्शनकारीहरु ट्रम्पको स्वमित्वको ९८ तल्ले होटेल परिसरबाहिर भेला भइ चर्को स्वरमा नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरुलाई कतिपय बाहिरिया व्यक्तिहरुले पनि हात हल्लाउँदै समर्थन जनाइरहेका छन् ।
माइनापोलिसः सयौं प्रदर्शनकारीहरुको पैदलयात्राले गर्दा जहिले पनि व्यस्त रहने माइनापोलिसको इन्टरस्टेट ९४ राजमार्गको दुई लेनकै आवागमन अवरुद्ध भएको छ ।
माइनसोटा विश्वविद्यालयबाट निस्केका सयौं विरोध प्रदर्शनका कार्यक्रम र भीडका कारण ट्वीन सिटिज, फ्र्याङकलिन एभिन्यू र सेन्ट पउलजस्ता व्यापारिक नगरीहरु पनि दुई दिनसम्म ठप्प रहेका छन् ।
फिलाडेल्फियाः ट्रम्पविरोधी व्यापक प्रदर्शन सल्किएर दोस्रो दिन पनि फिलाडेल्फिया प्रभावित भएको छ ।
सिटी हलनजिक सयौं प्रदर्शनकारीहरु जम्मा भइ ‘ट्रम्पविरुद्ध एकजुट होऔं’, ‘ट्रम्प हाम्रा राष्ट्रपति होइनन्’, ‘सबैका लागि सुरक्षित अमेरिका’जस्ता नारा अंकित प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुका नाराले फिलाडेल्फिया महानगर गुन्जायमान भइरहेको छ ।
‘हामीले नयाँ राष्ट्रपतिलाई होइन, बरु एक–अर्कालाई प्रेम, सद्भाव र सम्मान गर्नुपर्छ भन्ने सम्झौं’ भन्ने नाराका साथ प्रदर्शनकारीहरुको भीडले फिलाडेल्फिया महानगरको पैदलयात्रा गरिरहेको छ ।
फिलाडेल्फिया प्रहरीले यस क्षेत्रको जनप्रदर्शन शान्तिपूर्ण भएको जानकारी दिएको छ ।
माइनसोटा स्टेट प्याट्रोल र सेन्ट पउल प्रहरी बलका जवानहरु साइरन बजाउँदै प्रदर्शनस्थल पुगे पनि कुनै अप्रिय घटना भने हुन पाएको छैन ।
बाल्टिमोरः ट्रम्पको विजयप्रति असन्तुष्ट रहेका सयौं प्रदर्शनकारीहरुले यहाँ पनि विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरु पैदलयात्रामा बाल्टिमोर फुटबल मैदान हुँदै नगरको व्यापारिक केन्द्र, इनर हार्बर तथा अन्य भागमा परिक्रमा गरिरहेका छन् ।
सडक आवागमन अवरुद्ध पारे पनि विरोध प्रदर्शन चाहिँ शान्तिपूर्ण नै छ । बाल्टिमोर प्रहरीले प्रदर्शनकारीको संख्या ६ सय जति भएको अनुमान लगाएको छ ।
दुईजनालाई प्रहरीले नियन्त्रणमा लिए पनि कुनै अभियोग भने लगाएको छैन ।
त्यसैगरी, सानफ्रान्सिस्को, लसएन्जलस, अस्टिन, ग्य्रान्ड –यापिड्स, मिसिगनलगायत अमेरिकाका सबैजसो नगर तथा महानगरहरुमा हजारौं जनताहरु ट्रम्पविरोधी नाराबाजी, जुलुस र प्रदर्शनीमा सडकमा उत्रेका छन् । रासस/एपी
प्रतिक्रिया दिनुहोस्