Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सभापति देउवालाई कारबाहीको माग गर्दै उजुरी दर्ता


0
Shares

काठमाडौं, चैत १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ ।

नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर–१ का महासमिति सदस्य एवं युवानेता राजेन्द्र बजगाइँले सभापति देउवाका कारण पार्टीले क्षति व्यहोरेको भन्दै विधानअनुसार कारबाही गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् । 

उजुरीमा बजगाइँले पार्टी सभापति एवं संसदीय दलको नेताको हैसियतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा समर्थन जनाएर पार्टी र संसदीय व्यवस्थाकै अहित गरेकाले अनुशासन उल्लंघनमा कारबाही गर्न माग गरिएको छ ।

बजगाइँले लोकतन्त्रका पक्षमा प्रतिबद्ध कार्यकर्ता र जनपंक्तिलाई निराश बनाउने काम सभापति देउवाबाट भएको आरोपसमेत लगाएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा र ११५ नम्बरमा उनले उजुरी दर्ता गराएका हुन् ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले यही चैत मसान्तभित्र अनुशासन उल्लघंनबारे उजुरी संकलन गर्ने निर्णय गरेको छ ।

बजगाइँले ‘नेपाली कांग्रेसको संसदीय दल तथा प्रमुख प्रतिपक्ष दलका नेता माननीय शेरबहादुर देउवा ज्यूले नेपाल कम्युनिस्ट पार्टीको सम्माननीय खड्गप्रसाद ओली नेतृत्वको सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रममाथि सर्वसम्मतिले पारित  गर्न किन दिनुभयो ? यसबाट संसदीय मर्यादामा चोटमात्र पुगेन कि सिंगो पार्टीको साख गिरेको छ । यसकारण माननीय श्री शेरबहादुर देउवामाथि कारबाही नेपाली कांग्रेसको विधानअनुसार हदैसम्मको गरियोस् भनी माग गर्दछु,’ उजुरीमा भनेका छन् ।

उजुरी दर्ता गरेपछि बजगाइँले अनुशासन समितिले सही ढंगबाट छानबिन गरी निष्पक्ष निर्णय लिने विश्वास व्यक्त गरेका छन् ।