Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


रुसका मन्त्री भ्रष्टाचारको आरोपमा पक्राउ


0
Shares

मस्को, कात्तिक ३० । रुसका आर्थिक विकासमन्त्री एलेक्सि उल्युकाएभलाई २० लाख अमेरिकी डलर घुस लिएर भ्रष्टाचार गरेको आरोपमा नियन्त्रणमा लिइएको छ ।

रुसमा भ्रष्टाचार वा अख्तियार दुरुपयोग गरेकोबारे छानबिन, अनुसन्धान गर्ने सरकारी निकाय ‘रसियन इन्भेस्टिगेटिभ कमिटी’का प्रवक्ता भेत्लाना पेत्रेन्कोले बताएअनुसार मन्त्री उल्युकाएभले २० लाख अमेरिकी डलर घुस लिएर रुसको एउटा निजीक्षेत्रको इन्धन उत्पादक कम्पनीलाई अकूत फाइदा पुर्‍याउने गरी आफ्नो पदाधिकारको दुरुपयोग गर्दै फाइल (टिप्पणी) सदर गरेका थिए ।

निजीक्षेत्रको इन्धन उत्पादक कम्पनी ‘बास्नेफ्ट’मा रुसी सरकारको स्वामित्वमा रहेको ५० प्रतिशत सेयर रुसी सरकारकै सन्चालनमा रहेको इन्धन उत्पादक संस्था–रोस्नेफ्टलाई बेचबिखन, हस्तान्तरण गर्ने सम्बन्धमा तलबाट पेस भएको फाइलमा राय सदर गर्दा मन्त्रीले २० लाख डलर घोटाला गरेको आरोप लगाइएको छ ।

सन् २०१३ मा रुसका आर्थिक विकासमन्त्री बनाइएका उल्युकाएभउपर चाँडै नै भ्रष्टाचारको मुद्दा चलाइने पनि रसियन इन्भेस्टिगेटिभ कमिटीले जनाएको छ । रासस/सिन्ह्वा