Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘हामी गुट चिन्दैनौं, प्रमाणका आधारमा दोषी चिन्छौं’ (भिडियो)


0
Shares

अक्कल कुँवर र नवीन स्थापित (इमेज)

काठमाडौं, चैत १३ । नेपाली कांग्रेसको अनुशासन समितिले आफ्नो कार्यविधि बनाउँदै काम अघि बढाएको छ ।

यही चैत ४ गते केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय समितिले निष्पक्ष काम गर्नेभन्दा पनि गुट–उपगुटको छाया पर्ने त होइन भन्ने आशंका गरिएको छ ।

महाधिवेशन भएको दुई महिनाभित्र बनाइसक्नु पर्ने अनुशासन समिति संस्थापन र संस्थापनइतर समूहबीचको लामो रस्साकस्सीका कारण तीन वर्षपछि गठन त भएको छ तर यसले कत्तिको निष्पक्ष काम गर्न पाउला भन्ने आशंका उत्तिकै छ ।

मंगलबार बसेको समितिको पहिलो बैठकले समितिको कार्यविधि पारित गर्दै नेताहरूलाई जथाभावी लेख्न, बोल्न र आरोप–प्रत्यारोपमा नलाग्न निर्देशन दिएको छ ।

सार्वजनिक मञ्च र सामाजिक सञ्जालमासमेत पार्टी हितविपरीत नबोल्न र नलेख्न सचेत गराउँदै त्यस्तो गरे कारबाही गर्ने निर्णय पनि गरेको छ ।

समितिले तीनै तहका निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवार हराउन भूमिका खेल्नेलाईमात्र नभइ विधानविपरीतको कार्य गर्ने जोसुकै नेता–कार्यकर्तालाई छानबिनको दायरामा ल्याउने समितिका सदस्य धनराज गुरुङले दाबी गरेका छन् ।

यसअघि, रमेश रिजाल नेतृत्वमा रहेको अनुशासन समितिमा ३०० बढी उजुरी परेका थिए । प्रमाणसहित परेका ती उजुरी पनि हेरेर छानबिन गर्ने समितिले जनाएको छ ।

अनुशासन समिति नै न्यायिक समिति भएको भन्दै न्यायाधीशले मिसिल पढेजसरी आफूहरुको समितिले पनि प्रमाण मसिनो ढंगले हेर्ने र आग्रह–पूर्वाग्रह नराखी छानबिन र कारबाही गर्ने गुरुङको भनाइ छ ।

तर, समितिको गठन नै भागबन्डाको आधारमा भएकाले केन्द्रीय कार्यालयमा थुप्रिएका अनुशासनविपरीतका उजुरीमाथि कारबाही गर्नेभन्दा गुट–उपगुटबीच विभक्त नेतादेखि कार्यकर्ताको बचाउका लागि जोडबल हुने त होइन भन्ने आशंका पनि सँगसँगै गरिँदैछ ।

विगतमा पनि कतिपय समयमा अनुशासन समितिले गरेका निर्णय नेतृत्वले उल्ट्याउने गरेको पाइन्छ भने कुनै समितिले कामै गर्न नसकेर निस्क्रिय हुने र राजीनामा नै दिन बाध्य पनि भएका थिए ।

भिडियो हेर्नुहोस्