
लन्डन, चैत १२ । नेपाली समाजमा एउटा उखान प्रचलित छ– काशी जानु कुतीको बाटो ।
काशी नेपालबाट दक्षिणतर्फ अर्थात् भारतमा पर्दछ भने कुती उत्तरतर्फ, चीनमा पर्दछ । त्यसैले ‘काशी जान कुतीको बाटो रोज्ने’ भनेर यो उखान व्यंग्यमा पनि प्रयोग हुन्छ । तर ब्रिटिश एयरवेजको एउटा विमानका यात्रुले यही नियति झेल्नु परेको छ । एकातिर जानका लागि टिकट लिएर विमान चढेका यात्रु एयर ट्राफिक कन्ट्रोलरको लापरवाहीका कारण अर्कै ठाउँमा पुगेका छन् ।
समाचार एजेन्सीहरुका अनुसार लन्डनको हिथ्रो विमानस्थलबाट सोमबार जर्मनीको डसेलडर्फका लागि उडेको ब्रिटिश एयरवेजको विमान बीए ३२७१ स्कटल्याण्डको राजधानी एडिनबर्गमा अवतरण गरेपछि यात्रु चकित भए ।
उडानका क्रममा यात्रुले आफू कता जाँदैछौं भन्ने पत्तो नै पाएनन् । जर्मनीका लागि उडेको विमान स्कटल्याण्ड पुग्छ भन्ने उनीहरुले कल्पनासमेत गरेका थिएनन् । विमान अवतरण भएपछि जब भनियो ‘एडिनबर्गमा तपाईहरुलाई स्वागत छ’, अनि यात्रुमा हल्लीखल्ली मच्चियो ।
प्रतिक्रिया दिनुहोस्