२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


महाभारतमा कुन्ती भाग-२


0
Shares

-हरिविनोद अधिकारी

वास्तवमा ज्यानको माया अपरम्पार नै हुँदो रहेछ । न त चाहेर मर्न सकिँदो रहेछ । न त चाहेको जस्तो बाँच्न नै सकिँदो रहेछ । मलाई थाहा छ । अब हामी एकछिन पछि दावानलमा समाहित हुनेछौं । अर्थात् अग्नि समाधिमा लिन हुनेछौँ तर पनि यो ज्यानको माया कति धेरै ? सायद त्यसैले होला मलाई पहिलेका कुरामात्र याद आइरहेका छन् । यत्तिबेर त स्वर्गका वारेमा सोच्ने बेला हो । नर्कका वारेमा सोच्ने बेला हो । तैपनि तिनै राज्य, बाबु आमा, छोरा बुहारी नाति नातिनाको मात्रै चिन्ता भएजस्तै गरी किन उनीहरुकै मात्र याद आउँछ ? माया जालको यो सञ्जाल प्राणीमात्रमा हुन्छ होला क्यारे । नत्र चरा , कीटपतङ्ग, जनावरमा किन आफ्नो बासस्थान, सन्तानको माया पलाएको देखिन्छ । एकदिन दिदी शौचमा जान लाग्नु भएको थियो यही आश्रममा र मलाई एकछिन आर्यको देखभाल गर है भन्नुभयो र जेठाजुसँग विदा मागेर जानुभयो । जेठाजुलाई म त्यहाँ कतै छु भन्ने सायद थिएन होला । अनि दिदी कोठाबाट बाहिर निस्किने बित्तिकै रुन पो थाल्नुभयो दुर्योधनको मृत्युको अवस्थालाई सम्झँदै र फुसफुसाउँदै भन्नुभयो आफैँले मात्र सुन्ने गरी-हे दैव,तँ पनि कति निष्ठुरी भएको, म जस्तो दृष्टिविहीनको लौरो छिनेर लगिस् यो बुढेसकालमा ।

राज्यमात्र गएको भए केही हुँदैनथ्यो तर एकसय छोराहरु पनि छिनिस् त्यो पनि भीमकै हातबाट । हा दुर्योधन, हा दुःशासन , हा विकर्ण कहाँ हौला र के गर्दै हौला ? तर उहाँलाई लाग्यो कोही छ कि , अनि आँसु पुछ्दै गान्धारी दिदीलाई बोलाउनु भयो र भन्नुभयो-गान्धारी, गान्धारी । तर दिदी त आइपुग्नु भएको थिएन र म पनि दिदीलाई पानी दिन र नुहाइदिनका लागि बाहिर बिस्तारै निस्केँ तर जेठाजुको कान यति तिखा थिए कि उहाँलाई मेरो हिँडाइको आभास भयो क्यारे, अनि विदुरलाई बोलाउनु भयो । मैले अनि विदुरलाई खबर गर्रे महाराजले बोलाउँदै हुनुहुन्छ । विदुर हो कि भनेर महाराजले बोलाएको मैले बुझेकी थिएँ तर म त्यहीँ थिएँ भनेर थाहा नदिन पनि मैल बाहिरबाट सुनेको जस्तो गरेर विदुरलाई बोलाउनु जरुरी थियो । तर जेठाजु साह्रै चलाख र लोकाचार पार्न सिपालु हुनुहुन्छ ।

खोइ के भएको हो, अहिले म सानाको बेलामा पुग्छु , तत्कालै तारुण्य अवस्थामा पुग्छु र फेरि वास्तविकतामा आउँदा अहिले मृत्य पर्खँदै आश्रममा छौँ हामी सबै । हामी भन्नाले दिदी, जेठाजु , विदुर र वहिनी । मन जस्तो चञ्चल त केही पनि हुँदैन भन्दछन् । त्यस्तै भयो र त वनवासमा युधिष्ठिरलाई । धर्मराजले यक्षको रुप धारण गरेर सोध्नु भयो रे युधिष्ठिरलाई कि सबैभन्दा चञ्चल के हुन्छ अनि जेठाले भनेर मन हुन्छ । अनि धर्मराज यक्षको रुपबाट आफ्नै रुपमा आएर वरदान दिनु भयो र मूच्र्छित सबै भाइहरु ब्युँझिए रे । विदुरले भन्दै थिए । विदुरले त वनवासका बेलामा पनि मेरा छोराहरुसँग गोप्य सम्पर्क गरेको बुझ्थेँ । महामन्त्रीको दोहोरो दायित्वमा विदुर थिए । राज्यले विरोधी भनेर घोषणा गरेर वनबास पठाएका मान्छेको चियो गर्ने नै भयो , र अर्कोतिर भविष्य देखेका व्यासले विदुरलाई पाण्डवको लागि वातावरण बनाउनु भनेकोले पनि सम्पर्कमै देवर थिए भन्ने मैले बुझेकी थिएँ तर कसैले यो कुरा मलाई भन्दैनथे । बरु शकुनि दाइ नै भन्ने गर्नुहुन्थ्यो , थाहा छ छोराहरुका वारेमा केही ? छैन भने विदुरलाई सोध्नु नि ? यो व्यंग्य हो कि साँच्चै मेरा छोराहरुको चिन्ता हो , मलाई छुट्टयाउन गाह्रो हुन्थ्यो ।

यक्षको रुप धारण गरेर स्वयं धर्मराजले केही प्रश्नहरु सोधेको कुरा पनि हस्तिनापुरमा आउँथ्यो । हस्तिनापुरमा त अनेक हल्ला आउँथे । कसैले भन्थ्यो-द्रौपदीलाई कसैले हरेर लग्यो रे । कोही भन्थे दाजुभाइका बिचमा विवाद बढेर बेग्ला बेग्लै बस्छन् रे वनमा पनि । कसैले त यसो पनि भने रे पाण्डबहरुको त नामोनिसान छैन , कतै पनि देखिएका छैनन् । जंगलमा बाघ, सिँहले खायो होला । मलाई लाग्थ्यो मेरा छोराहरुलाई खाने न त बाघ पैदा भएको छ, न सिँह नै । किनभने ती आफैं सिंह हुन् र ती आफैं मान्छेमध्येका बाघ हुन् । राजालाई नरब्याघ्र नै त भन्छन् क्या रे ।

आजको त्यो आगो सायद जेठाजुको यज्ञकुण्डबाट उठेको जस्तो छ भन्थे । आखिर डँढेलो लागी हाल्यो । अब जीवनको अन्तिम सास फेर्दै छौँ । तर यो कुरा मैले कसरी भनौं । सानैमा एउटा कथा सुनेकी थिएँ धाइआमाको मुखबाट । एउटा सहरमा एउटा युवा राजकुमारको मृत्यु भयो रे , अनि उसलाई जलाउन भनेर लैजाँदा राजकुमारकी भर्खरै बिबाह गरेको पत्नी पनि सती जान रुँदै रुँदै आएकी थिइन् रे । श्मशान घाटमा एउटा अघोरी जोगी बसेको थियो , त्यो बुढै भएको थियो । त्यो युवती पत्नीको विलाप सुन्न नसकेर जोगीले आफू समाधिमा बसेर मर्ने र त्यो राजकुमारको शरीरमा प्रवेश गरेर उसलाई बचाउने विचार गरेछ । अनि एकपटक खुब हाँसेछ र एकछिन पछि रुन थालेछ । पछि उसले जल समाधि लिएर मरेछ अनि राजकुमारकोे शरीरमा प्रवेश गरेछ , राजकुमार निद्राबाट उठेजस्तै गरी उठेछन् । कुरो त समाप्त भयो , राजकुमारीको खुसीको सीमा रहेछ, राजा रानी पनि खुसी भए छोरो विउँझेकोमा । तर जोगी हाँसेको र रोएको रहस्य के रहेछ भने हाँस्यो किनभने यो जीर्ण शरीर छोडेर जाँदैछु , भोलि राजा पनि हुन्छु, ती राजकुमारीसँग मेरो उठबस हुनेछ । तर किन रोएको रहेछ भने यो शरीर छोड्नु पर्ने भयो । शरीरको माया लाग्यो । मलाई अहिले त्यस्तै भएको छ । सबै पुराना कुरा एकपछि अर्को आएका छन् । झन अहिले नै किन हो त्यो कर्णको सम्झना आइरहेको छ ।

त्यही कुरा पहिले नभनेको भनेर जेठाले मलाई लक्ष्य गरी सम्पूर्ण माता जातिलाई श्राप दिएको छ अबदेखि कहिल्यै पनि स्त्रीजातिको कण्ठमा कुनै पनि कुरा नअडियोस् । किन रे भने मैले उसको जेठो दाजु पनि छ र त्यो चाहिँ त्यही राधेय हो, कर्ण हो, अधिरथको छोरो हो भनेर भनिन रे भनेर । जब म उसलाई नदीमा बगाउन भनेर जाँदै थिएं उसको निर्दोष हाँसो र निष्छल हेराइको त्यो मादकता, पहिलो पटक आमाको ममता उर्लिएको अनि इज्जत, प्रतिष्ठाको बन्धनले निष्ठुर आमा, निर्दयी आमा र कठोर छातीकी पाषाण हृदय बनेर बस्नु परेको त्यो क्षण । मेरो आँखामा किन अहिले पनि त्यो क्षण ताजा भएर आएको होला ? कर्ण एउटा अप्रतिभ प्रतिभा । एक अपूर्व साहसी योद्धा । एक दानशील दानवीर । आफ्नो छालासमेत आफ्नै हातले काडेर दिनसक्ने दानवीर तर ऐया पनि नभन्ने एक क्षमतावान र अद्वितीय क्षमाशील सौर्यता भएको व्यक्ति , न भूतो न भविष्यति । जब ऊ गर्जन्थ्यो रे, सिंह जस्तै गर्जन्थ्यो रे । जब ऊ रिसाउँथ्यो, त्यो बेलामा पनि ऊ हाँसिरहेको जस्तो देखिन्थ्यो रे ।मेरो त धेरै सम्पर्क नै भएन भन्नुपर्‍यो । जबजब म उसलाई देख्थें, म आफूलाई एक अपराधी जस्तै ठानेर नतमस्तक हुन्थेँ र लुकी लुकी हेर्थें र सम्झन्थेँ-यदि मैले सूर्यबाट कानमा कुण्डलसहितको बच्चा पाएको कुरा पिताजीलाई , माताजीलाई भनेको भए के मलाई माफी हुन्थ्यो होला र ? मेरो बिचारमा हुँदैनथ्यो भनेर नै बगाएकी थिएँ नदीमा । भनेको भए मेरो बिहे हुन्थ्यो होला त हस्तिनापुर नरेश पाण्डुसँग ? या त्यो थाहा भएको भए पाण्डुले विवाह गर्थे होलान् ? या भीष्म पितामहले मेरो स्वयंवरमा जानका लागि पाण्डुलाई अनुमति दिनुहुन्थ्यो होला र ? खोइ के के ?, आज मेरो जीवनमा त्यो कुरा खट्किएर बस्यो ।

थाहा त रहेछ भीष्म पितामहलाई पनि । व्यासलाई पनि । कृष्णलाई पनि । मलाई माइतीमा कसैलाई पनि थाहा छैन भन्ने लाग्थ्यो तर कसरी थाहा पायो त्यो कान्हाले ? हुन त कान्हा आफै विष्णुको पूर्ण अवतार हो भन्थे मेरा माइतीहरु । हुन पनि त्यो मान्छे अवतारी नै छ । त्यसलाई नजानेको पनि केही छैन । अस्त्र, शस्त्र, शास्त्र सबै जानेको छ । भन्थे-त्यसले ३२ दिन र रातमा नै ६४ कला जान्यो रे । के पो आउँदैन त्यसलाई ? भन्नुमात्र हो दाजुको छोरो । मलाई पिताजीले भन्दा पनि बढी गर्छ । अझै पनि । कता होला , के गर्दै होला , अहिले मैले बोलाए पनि आउँदो होला तर भैगो बोलाउँदिन किनभने अब बाँचेर पनि केही गर्न सक्दिन । अनि त्यो कर्ण अहिले स्वर्गमा होला, फेरि कर्णकै चिन्ता किन मलाई ? वास्तवमा म पापिनी नै हुँ । त्यसै भन्थ्यो पहिलो भेटमा नै र मलाई तुरुन्त निस्केर जान आदेश दियो अंग नरेशको हैसियतमा होला । तर आँखामा आँसु थियो, हात थर्थराई रहेका थिए, मेरो मुखबाट आँखा हटाइरहेको थिएन तर भन्थ्यो निस्केर गइहाल । मलाई नदीमा बगाउन सक्नेले फेरि मलाई खोज्दै खोज्दै किन आएको ? मेरी आमा त त्यही राधा हुन् जसले नदीबाट निकालेर छातीमा लगाउनु भयो र आफ्नो शुष्क छातीमा दूघ चुसाउँदा उनको दूध मप्रतिको बात्सल्यताले पघ्रियो रे । कस्तो कुरा आएको त्यसलाई ? म त आमा नै होइन रे ? के प्रमाण छ रे मैले पाएको ?

तर उसका प्यासी आँखा भने मबाट हटाएको थिएन र ती आँखामा एउटा खोज थियो आफ्नै उसका लागि अनुसन्धानको विषय जुन अचानक फेला परेको होस् र त्यो खोज्दा खोज्दा पहिले नभेटिएको होस् । अचिन्त्य, अनिन्द्य, अभेद्य र अमोघ । मेरा आँखा पनि कहाँ अघाएका थिए र ? उसको काँध, उसका आँखा, उसको शरीर अनि उसको बालसुलभ हठ । मीठो हठ । हूँकार सहितको क्रन्दन तर क्रन्दनमा एउटा माधुर्यता । अपनत्व अनि टाढा टाढाको जीवनलाई नजिकैबाट देख्न सक्ने दूरदर्शिता । भन्यो पनि तिम्रा पाँचका पाँच । म नरहुँ या अर्जुन नरहोस् । अनि किन अर्जुनसँग त्यो वैरभाव ? मैले बुझिन तर नियतिको खेललाई कसले पो छिचोल्न सक्छ ।