
भक्तपुर, मंसिर २९ । भक्तपुरको सल्लाघारीमा गत २४ गतेदेखि सुरु भएको भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला उत्साहजनकरुपमा बुधबार सम्पन्न भएको छ ।
मेलामा १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजक भक्तपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
मेला एक लाख ३० हजारभन्दा बढीले अवलोकन गरेको र १६ करोडभन्दा बढीको कारोबार भएको मेलाका संयोजक एवं संघका कोषाध्यक्ष राजुमृगेन्द्र जोशीले जानकारी दिए ।
मेलाअघि ९० हजार बराबरले अवलोकन गर्ने र पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको थियो ।
मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, घरेलु तथा लघुउद्यमका उत्पादनहरु, शैक्षिक, सूचना–प्रविधि, कृषि उत्पादन, विभिन्न ब्रान्डका सवारी–साधनहरु राखिएका थिए ।
यस्तै, दैनिक उपभोग्य तथा घरायसी सामग्री, विद्युतीय सामग्रीहरु, फर्निचर एन्ड फर्निसिङका सामग्री, बाल मनोरन्जका सामग्रीहरु, आयुर्वेदिक सामाग्रीहरु एवं एक जिल्ला एक उत्पादनका सामानहरु पनि बिक्रीका लागि राखिएका थिए ।
नेवारी मौलिक एवं परम्परागत तथा सांस्कृतिक सामाग्रीहरुको उत्पादन, खानाका स्टलहरुसमेत राखिएको मेला अवधिभर परम्परागत तथा आधुनिक सांस्कृतिक समूहरुले विभिन्न प्रस्तुतीहरु प्रस्तुत् गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्