१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


मेलामै सिमित भयो बाराको पर्यटन,यस्ता सुन्दर स्थान ओझेलमा(भिडियो)


0
Shares

-प्रकाश लम्साल, ईमेज

बारा, पुस २ । एक दर्जनभन्दा बढी पर्यटकीय स्थल र पूर्वाधार हुँदा पनि बाराको पर्यटन गढीमाईको पञ्चबर्षीय मेलामा सीमित हुने गरेको छ ।

पर्यटकीय स्थलको प्रचार प्रसारमा सम्बन्धित निकायको उदासिनताले बाराको पर्यटन एउटा मेलामै सिमित हुन पुगेको हो ।

ऐतिहासिक सिम्रौनगढ राज्यको दरबार, पर्सा वन्यजन्तु आरक्ष, प्राचिन पशुबजार, चुरियामाई मन्दिर, सुरुङ मार्ग, मानव निर्मित नेपालकै ठूलो पोखरी, हलखोरीया दह, हात्तीसार, गढीमाई मन्दिर, पथलैया–वीरगन्ज औद्योगिक करिडोरलगायतका सम्पदा बारामा छन् ।

यी सबै स्थान सामान्य घुमफिर गर्न पनि कम्तिमा तीन दिन लाग्छ । सबै स्थानमा सहज यातायात र बासस्थानको ब्यबस्था रहे पनि ऐतिहासिक सम्पदाको प्रचारप्रसार नहुँदा यहाँको पर्यटन व्यवसाय खुम्चिएको छ ।

बाराको पर्यटन विकास नहुनुको पछाडि राज्यको नीति नै बाधक देखिएको सिमरा गाविसका पूर्वअध्यक्ष भोला अधिकारी बताउँछन् ।

प्रत्येक ५ वर्षमा एक महिनासम्म लाग्ने गढीमाईको मेलामा भने १ करोडभन्दा बढी दर्शनार्थी पुग्ने गर्दछन् । त्यस बेला पनि जिल्लाका अन्य सम्पदाको प्रचार हुन नसक्दा गढीमाई पुग्नेहरु त्यत्तिकै फर्कने गरेका छन् ।

गढीमाई पुग्नेमा अधिकांश आन्तरिक तथा भारतीय पर्यटक हुने गरेको बताउँछन् गढीमाईका मूल पुजारी मंगल चौधरी ।

पर्यटन प्रवद्र्धन गर्ने निकाय, जनप्रतिनधि र स्थानीयले चासो नदेखाउँदा जिल्लामा पर्यटन विकासले फड्को मार्न नसकेको हो ।

रैथाने हात्तीको बासस्थानले प्रसिद्धि पाएको पर्सा बन्यजन्तु आरक्षमा पनि नजिकैका स्कुले विद्यार्थीबाहेक अरु पर्यटक पुग्ने गरेका छैनन् ।

ऐतिहासिक सिम्रौनगढ दरबारमा पनि आन्तरिक तथा बाह्य पर्यटक पुगेको तथ्यांक देखिँदैन ।

उद्योग वाणिज्य संघ बाराका पूर्व अध्यक्ष रमेश तिवारीले पर्यटक विकासका लागि स्थानीय सक्रिय नहुँदा ऐतिहासिक स्थलको प्रचार हुन नसकेको बताउँछन् ।