Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


मन्त्री केसी र शाहीको करोडौं सम्पत्ति: सुनमात्र ५० तोला भन्दा बढी


0
Shares

सार्वजनिक विवरणअनुसार मन्त्री केसीको काठमाडौँको गोङ्गबुमा प्रतिमा केसीको नाममा १५ आना दुई पैसा, नुवाकोटको ओखरपौवामा उनकै नाममा २० रोपनी एक आना एक पैसा, नुवाकोटको विदुर नगरपालिकामा मन्त्री केसीकै नाममा छ आना दुई पैसा र ललितपुरको सैँबुमा प्रतिमा केसीको नाममा आठ आना एक पैसा तीन दाममा बनेका चारवटा घर रहेका छन् ।

मन्त्री केसीले भर्नुभएको सम्पत्ति विवरणमा काठमाडौँको साङ्लामा पाँच कित्तामा जग्गा छ । नौ आना दुई पैसा, १४ आना दुई पैसा, एक रोपनी ११ आना तीन पैसा, एक रोपनी छ आना, एक रोपनी छ आना गरी पाँच कित्ता जग्गा प्रतिमा केसीको नाममा भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यसैगरी, प्रतिमाकै नाममा ललितपुरको हरिसिद्धि र उपमहानगरपालिकामा चार कित्ता जग्गा छ । ललितपुरमा जम्मा दुई रोपनी छ आना १२ पैसा दुई दाम जग्गा रहेको विवरणमा उल्लेख छ ।

मन्त्री केसीका नाममा ५० तोला सुन र ५२५ तोला चाँदी छ । त्यसैगरी विभिन्न बैंकमा गरी मन्त्री केसी र प्रतिमाका नाममा रु एक करोड ४४ लाख १५ हजार ९२२ बचत छ । साथै आफन्तलाई रु ३० लाख सापटी दिएको उनको सम्पत्ति विवरणमा खुलाइएको छ ।

उनी र प्रतिमाका नाममा विभिन्न बैंक र सहकारीमा रु दुई लाख २५ हजार सेयर छ । उनको नाममा बा२च ९१४७ नंको सवारी रहेको विवरणमा उल्लेख छ । अलैँची, फलफूल बाख्रा र बारीका काठ दाउरा बिक्रीबाट रु चार लाख ५० हजार आम्दानी भएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

पर्यटनमन्त्रीको सम्पत्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरणमा आफू र श्रीमतीका नाममा हुम्ला र काठमाडौँमा गरी तीनवटा घर रहेको उल्लेख गरेका छन् ।

मन्त्री शाही र उनकी श्रीमती बसन्ती शाहीका नाममा हुम्ला, बाँके र काठमाडौँमा पुख्र्यौली जग्गा रहेको छ । काठमाडौँको मातातीर्थमा १५ रोपनी, हुम्ला खर्पुनाथमा २०० रोपनी र बाँके खजुरामा दुई बिगाहा जग्गा रहेका छन् ।

त्यस्तै, पैतृक सम्पत्तिको रुपमा ५७ तोला सुन र एक किलो चाँदी रहेको उनले उल्लेख गरेका छन् ।

मन्त्री शाहीको सिटिजन्स बैंकमा रु १६ लाख, श्रीमती वसन्ती शाहीका नाममा सोही बैंकमा रु २५ लाख तथा शुभचिन्तक सहकारीमा दुवै जनाको समान रु सात÷सात लाख बचत मौज्दात रहेको छ ।

त्यसैगरी, मन्त्री शाहीका नाममा चिलिमे हाइड्रोमा रु ३२ लाख रकमको २०० कित्ता सेयर, ज्योति विकास बैंकमा रु एक करोड ९५ लाख मूल्यको १० हजार कित्ता सेयर तथा श्रीमतीका नाममा शुभचिन्तक सहकारीमा एक हजार, माउन्ट कैलाश इनर्जीमा रु सात लाख ६८ हजार र कृषि बैंकमा २२९ कित्ता सेयर रहेको छ ।

व्यक्ति र सहकारी संस्थाका नाममा रु छ लाख ५० हजार ऋण बाँकी रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री शाहीसँग रु ३५ लाख मूल्यको कार र श्रीमतीका नाममा रहेको रु २० लाख पर्ने कार र रु एक लाखको स्कुटर छ । रासस